तिम्रो आँखाको बान्की भन्दा अलिक पर
मनको हलचल ढुकढकीको छेवैतिर
कोमल स्नेह र हार्दिकता सहितको
शुभकामना जाहेर गर्दै
हरपल मलाई अँगालोमा अँगालुँलाझैँ गर्ने
ए मेरी प्रेयसी !
भन त मलाई
हाम्रो सम्बन्धको गाढा अर्थहरू
हाम्रो जिन्दगीका गहिरा रहस्यहरू !
आज बिथोलिएको छु म
आफ्नै जिन्दगीको साँघुरो परिवेशमा
तिम्रा रहरका गन्तव्यहरूलाई
पछ्याउँदै विशाल त्यो आकाशको
एक कुनाबाट सर्लक्कै सोहरेर
चाहनाका सप्तरंगी ईन्द्रेणी
सक्दिनँ सजाउन म आफ्नालागि
जिन्दगीको मीठो गीत धून भरेर यो अँधेरी रातमा
जुनकीरीको टिलपिल फिका ज्योति एकटक
टोलाएर यदाकदा गुन्गुनाउँदै
छल्काएर छताछुल्ल मनको उद्वेग
तिम्रै जिन्दगीमा पोखाइदिउँझैँ लाग्छ कहिलेकाहीँ त
तर असमर्थ छु यतिबेला यो सब गर्न पनि
साँच्चै समय बलवान् रहेछ
मैले आफ्नालागि बाँच्दै गरेको जिन्दगीभन्दा
मलाई भीरपाखा र लेकबेसी डुलाउने मेरा रहरहरूभन्दा
टेकेर म उभिएको यो धर्ती र
मेरो शीरमाथि विशाल फैलिएको यो शून्य आकाश
चक्रझैँ सधैँ मेरै वरिपरि घुमिरहेको यो ब्रह्माण्ड
सबै-सबै समयको यात्रा र यी पदचापहरू
मैले बाँच्ने मौन परिधिको सानो आँखिझ्याल
निस्तब्ध सन्नटाजस्तो
खै कस्तो, कस्तो!
विपना नै भ्रममा परेजस्तो
आफ्नै सपनाको मलामी गएजस्तो
जिन्दगीलाई सस्तो चाहनामा लपेटेर
हिँडेको छु यात्रा पहिल्याउँदै
रनभुल्लमा सुदूर गन्तव्य
यहाँ कोपिलामै चुँडिएका हजार फूलहरू
तोतो बोलीसँगै ओठमा मुस्कान लिएर
यता-उता भौँतारिरहेका निस्ता भविष्यहरू
तेजिला नयनहरूमा जीवनको सपना लिएर
सफलताको लिस्नो उक्लिन
तछाँड मछाड
असंख्य जीवनका अपवादहरू
छरिएर बिस्कुनझैँ डम्पिङ र डस्टबीनहरूमा
एउटा अमृत भविष्यको परिकल्पना गरिरहेछन्
एउटा त्रासदि भयको सामना गरिरहेछन्
यही त्रासदी र अभावहरू क्यानभासमा रग्याउन मन छ
तिनै आवाजहरूलाई चर्को ध्वनिमा बुलन्द गर्न मन छ
उजाडिरहेको सपनाहरूसँग
म यो झुत्रो जीवनका अर्थहरू सोधिरहेछु
म एक त्यान्द्रो रहरको परिधिमा नतमस्तक
खुशीका पलहरू विनिमय गर्दै बाँचिरहेछु
भोग्नलाई हो जीवन – कीमार्थ भोगिरहेछु
फटाउनलाई न हो रहर- हरपल फटाइरहेछु
आज अकस्मात मविरुद्ध विजयको शंखघोष गर्दै
उभिएको छ एउटा पराजय
छलिएर निसंकोच उसको चंगुलबाट
नसकेर भाग्नलाई कतै उस्को अँगालोबाट
स्तब्ध छु, अभिशप्त र सम्हालिनै गाह्रो छ यतिबेला मलाई
समयले मेरो अघिल्तिर सारेको पराजयको यो मृत्यु पत्रमा
जिन्दगीदेखि मीठो जिन्दगीलाई
सपनादेखि न्यानो सपनालाई
आकांक्षा, विश्वास र भरोसालाई
बग्रेल्ती रहरहरूको अचानोमा
ट्वाक.. ट्वाक.. ट्वाक टुक्य्राउँदै
घाँटी निमोठदै, खुलेआम कातिल गर्दै
कहालिलाग्दो यो समय परिस्थितिमा
जिन्दगीका उज्याला जिजीविषाहरूलाई
सधैँ-सधैँको लागि चिता जलाएर
भन न प्रिय! भन, म कसरी
विसर्जनको बाटोमा पराजयको पाइला अघि बढाऊँ ?
मेरो अघिल्तिर सारिएको क्रूर मृत्युपत्रमा
जिन्दगीको अन्तिम हस्ताक्षर गरौँ ?
बेलबारी न.पा. ११
लक्ष्मीमार्ग- मोरङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 






