बूढो कपाल सेत्तै फुलेको
स्वाँक्क‐सुँक्क गर्दै
आँशू झारी
उद्धार खोज्दैछ
उद्धार‐ कि जीवनबाट
उद्धार‐ कि मृत्युबाट
घर उसको चार भित्ते‐
एक कोठे
न झ्याल छ
न ढोका
न छानो
झ्याल उसको‐
भित्ताका अनगन्ती प्वाल
छानो‐ आकाश
अन्धकार धुलाम्य कोठामा
बसेको छ बूढो
जाडोमा थरथरी काँप्दै
धुलोले कट्कटिएको‐
कालो‐मैलो‐थोत्रो चादरमा
गुट्मुटिएको छ बूढो
रातो रङमा नीलो घेरा
हालेको मखमलको चादर
ठूलेले ओढाएको‐
हिजो जस्तो लाग्छ
माया सहारा दिने सन्तति
कहिले इतिहास भए‐
वर्तमानमा सोची भक्कानिन्छ बूढो
कोही शान्तिका नाममा
कोही क्रान्तिका नाममा
कोही गुमनाम‐
इतिहास भए
छिमेकी दयालु छन् बूढोका
बेला‐बेलामा अन्न‐पानी
छानोबाट फाली‐ पालेका छन् बूढोलाई
भित्ता चढेर फाल्छन् क्यार
ईंट्टा कमजोर छन् घरका
हरबार, एक‐दुईवटा त झरी‐जान्छन्
हरबार, बूढो सकी‐नसकी उठेर
दयालु छिमेकीलाई हेर्न प्वालबाट
चिहाउँछ‐ देख्छ एकातिर गोही,
अर्कोतिर बाघ,
स्याल‐हुँडार त झन्
कति हुन् कति !
कहिलेकाहीँ आकाश हेर्छ बूढो
कहिले‐जहाँ छानो हुने गर्थ्यो
त्यो सुनौलो छानो‐ बूढो सम्झन्छ
आफ्नै सन्ततिले टुक्रा‐टुक्रा
पारी लुछ्दै सिध्याउँदा
भयानक तस्बिर, मानस‐पटलमा
झल्झली झल्किन्छ
निहुरिएर भुइँमा जमेको
धुलोको पत्र पन्छ्याउँदै, बूढो सम्झन्छ‐
भयानक अतित,
भुइँका राता टाटाले‐
दाजु‐भाइ भिँड्दा खेरिको
त्यो दर्दनाक चीत्कार
फेरि गुञ्जाउँछ, बूढो झस्कन्छ
चन्द्र शिथिल छ बूढोको,
निस्तेज छ सुर्य
बूढो धुलो सास फेर्छ
धुलै सुस्केर्छ बूढो‐ बचाऊ !
गर मेरो उद्धार,
‐ कि जीवनबाट
‐ कि मृत्युबाट !
हालः रिचमन्ड, भर्जिनिया, युएसए



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 




