नयनको किनारमा होइन,
न अनुहारको आकारमा —
मेरो कथा लुकेको छ
मेरो हाँसो र आँशूभित्रको अन्तर्यात्रामा

न त अरूको नजरले थाहा पाउँछ
न दर्पणले देखाउँछ —
किनकि म खोज्दै छु
त्यो उज्यालो क्षितिज
जहाँ “म” हुनु, आफैँमा एक उत्सव हो

म नतिजाको पछि होइन
प्रयासको मिठासमा रमाउँछु
जहाँ प्रत्येक पाइला
एक सिकाइ हो
र प्रत्येक गल्ती
एक नयाँ प्रकाशको सन्देश

समयले मलाई हर्ष र पीडाको रङ दियो
तर म त कलाकार हुँ —
आफ्ना सपनाहरूको चित्र बनाउने
र विश्वासका रङहरू भर्ने

म खोजिरहेछु आफूलाई —
न सफलताको परिभाषामा
न अरूको प्रशंसाको आवाजमा
तर त्यो शान्त आवाजमा
जो हरेक बिहान भन्छ —
“आज तिमी सक्षम छौ।
तिमी उठ्न सक्छौ।
तिमी फेरि चम्कन सक्छौ।”

जीवन कुनै दौड होइन
जहाँ अरूलाई जित्नुपर्छ —
यो त एउटा नृत्य हो
जहाँ हरेक धूनमा
तिमी आफैंसँग रम्नुपर्छ

दर्पणले देखाउँछ
बाहिरी अनुहार
तर मेरो आत्माको उज्यालो
त्यो चोखो चाहनामा छ —
जहाँ म बनिरहेछु
आफ्नो सपनाको मानिस

सपना साना छैनन्
र बाटा साँघुरा छैनन् —
सिर्फ आँखा खोल्नुपर्छ
र मुटुको आवाज सुन्नुपर्छ

म विगतको छाया होइन
भविष्यको डर पनि होइन —
म आजको सूर्य हुँ
जसले हरेक बिहान
नयाँ आशा लिई उदाउँछ

म खोज्दै छु त्यो साँचो “म”
जो न देखिन्छ फेसबुकको फोटोमा
न अरूको तुलना गर्ने नजरमा —
तर भेटिन्छ
जब म माफ गर्छु आफैँलाई
जब म स्वीकार्छु आफ्नो कमजोरीलाई
र अँगाल्छु आफ्नो यात्रा
स्नेह र आत्म–सम्मानसहित।
अन्ततः —

अविरल खोज
राम्रो बन्ने होइन
“साँचो” बन्ने हो
र त्यो खोज —
सधैं चालु रहनेछ
पसिना, आँसु, हाँसो, र विश्वासको संगतमा

न अरूको नजरमा
न दर्पणको सतहमा —
तर आफ्नै हृदयको गहिराईमा।

  • काठमाडौं