सबैमा सबै कुरा एउटै हिसाबले लागू हुँदैन
एकै बीउबाट उब्जेका बोटहरू पनि एउटै ढंगले फुल्दैनन्
कोही बिहानै सूर्यझैं चम्कन्छ
कोही साँझतिर बनेको चन्द्रमा हुन्छ
जसले शीतलता दिन्छ—अलग शैली, अलग शक्ति
आजको समाज प्रश्न गर्छ–
ओहो, ऊ त कहिल्यै पढ्दैनथ्यो, अहिले टप गर्यो!
ओहो, त्यो मान्छे त त्यस्तो थिएन, कसरी यत्रो मान्छे बन्यो?
ऊ त “फेल” थियो नि, स्कलरशीप कसरी पायो?
तर किन हाम्रा नजरहरू भित्र हेर्न सक्दैनन्?
किन हामी बाहिर देखिएको खोल मात्रै मूल्याङ्कन गर्छौं?
हामीलाई थाहा छ– थोमस एडिसन सय भन्दा बढी पटक असफल भए,
तर उनी थाकेनन्,
आज हामी उज्यालोमा बाँचिरहेका छौं,
उनको त्यही “असफलता” भित्र लुकेको उज्यालोको कारणले
अल्बर्ट आइन्स्टाइन –
बाल्यकालमा बोल्नै नसक्ने, सामान्य स्कूले प्रणालीले “ढिलो दिमाग” भन्ने,
तर आज उनको ‘थ्योरी अफ रिलेटिभिटी’ सारा ब्रह्माण्डको साँचो हो
कसैले सोचेको थियो त?
“नसक्ने” ले संसार बदल्नेछ भनेर?
अब्राहम लिंकन –
पटक–पटक चुनावमा हार खाए, व्यापारमा असफल भए,
तर त्यही मान्छेले अन्ततः अमेरिका बदल्ने राष्ट्रपति बने।
त्यो क्षमताले होइन, इच्छाशक्तिले सम्भव भयो।
स्टिफन हकिङ –
शरीरले साथ दिएन,
तर दिमागले ब्रह्माण्डको गहिराइ जोतिदियो।
उनले भनिरहे, “असफलता त्यहाँ हुन्छ जहाँ हार मानिन्छ”
हेलेन केलर, जसले देख्न सकिनन्, सुनिनन्,
तर उनको स्पर्शले बोल्न नसक्ने आत्माहरूमा आशाको सन्देश पुर्यायो।
कसैले भन्छ–
“असक्षम व्यक्ति कसरी यत्रो पदमा पुग्यो?”
“यति नराम्रो मान्छेले पनि यत्रो अवसर पाएछ?”
तर थाहा छैन–
हामीले जसलाई कमजोर ठानेका थियौं,
उसको अन्तरमनमा लुकेको दृढता कति अग्लो छ।
हामीले सुनेका थियौं—
बाल्मिकी डाकु थिए रे,
तर परिवर्तनको बाटोमा लागेपछि
उनकै कलमले आज हामी रामायण पढिरहेका छौं।
हामीले हेला गर्यौं–
कसैले भान्सामा भाँडा माझ्थे, लुगा धुन्थे, कसैले सँगैको पसलमा काम गर्थे,
तर समयले पल्टायो पाना,
र बनायो उनीहरूलाई महात्मा गान्धी, डॉ. भीमराव अम्बेडकर, कल्पना चावला, ओप्रा विन्फ्रे,
र तिनै मान्छेले हजारौं जीवन उज्यालो पारिदिए।
तसर्थ…
कसैको संघर्ष देखिएको छैन भने,
त्यसको अर्थ संघर्ष छैन भन्ने होइन,
संसारले जुन रूपमा हेर्छ,
त्यो सत्यको पूरै दृष्टिकोण होइन।
कसैले शंका गरे पनि,
सपना हेर्ने अधिकार सबैसँग छ,
ऊ त्यही सपना साँचो बनाउँछ,
जो कहिल्यै हार मान्दैन।
एउटा विद्यार्थीले जसलाई ‘ढिलो बुझेको’ भनेर हाँसो उठाइन्छ,
तर त्यही विद्यार्थी एकदिन
विद्वान् प्राध्यापक बनि हजारौंलाई पढाउन सक्छ।
एउटा कलाकार, जसको स्वर
आज सुनिने ठाउँमा छैन,
भोलि त्यही स्वर
विश्वभर गुन्जिनेछ– इतिहास बनाउनेछ।
यसैले…
कसैलाई “तँ सक्दैनस्”, “तँ हुदैनस्” भनेर
नन्याय गर, नटोक…
समयको हातमा भविष्यको ढोका हुन्छ,
र त्यो ढोका कहिले कसका लागि खुल्नेछ, थाहा हुँदैन।
हरेक मान्छेको लय फरक हुन्छ,
कसैले धुन बुनिरहेछ शान्ति भित्र,
कसैले कराउने स्वरमा खोजिरहेछ दिशा,
तर सबैमा सम्भावना छ, आत्मबल छ।
यसैले, यस रंगमञ्चमा…
हामी हरेक पात्र हौं,
हामी हरेक कथा हौं,
हामी हरेक प्रेरणा बन्न सक्छौं।
आज जो पछाडि छन्,
भोलि अगाडि आउनेछन्।
आज जो देखिँदैनन्,
भोलि उज्यालो हुनेछन्।
सपना देख, मेहनत गर, विश्वास गर–
किनकि सफलताको आकार सबैका लागि फरक हुन्छ,
तर सम्भावनाको आकाश सबैका लागि खुला छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ माघ २०८२, सोमबार 









