(वातावरण दिवश जुन ५ विशेष)

मानिसको चैतन्य-चक्षु खुल्दै जाँदा
विज्ञान र प्रविधिले जादुगरी फड्को मार्दै जाँदा
ताप, चाप र भौगर्भिक प्रक्रियाको थिचाइमा
करोडौँ वर्षदेखि भूगर्भमा दबिएका जीवाष्महरू
विकास र समृद्धिको इन्धन बनेर सतहमा आए
र मानव-सभ्यतालाई शिखरमा पुर्‍याए
“आवश्यक्ता आविष्कारको जननी हो” भनेझैँ
जीवाष्म इन्धनको गर्भबाटै जन्मियो प्लास्टिक
निसन्देह !
एउटा युगीन क्रान्ति थियो प्लास्टिक आविष्कार
विज्ञान र प्रविधिले मारेको छलाङका दृष्टिले
बहुआयमिक उपयोगिताका दृष्टिले
मानव-जीवनको सहजताका दृष्टिले
तत्कालीन समय र परिवेशमा
प्रकृति र जैविकमण्डलमा सृजित चापलाई
प्रतिस्थापन गर्ने दृष्टिले
चमात्कारिक उपलब्धि थियो मानव चेतनाको

अपवादबाहेक
संक्रामक रोगसरी शीघ्रातिशीघ्र
च्यालेन्जर-डिपदेखि सगरमाथासम्म
भूमध्यरेखीय क्षेत्रदेखि ध्रुवीय भूगोलसम्म
पाँचै महासागर र सातै महादेशसम्म

पृथ्वीदेखि अन्तरिक्षसम्म
यत्रतत्र सर्वत्र
बिस्तार भयो यसको साम्राज्य
अभूतपूर्व चुलिँदै गयो-
प्लास्टिकजन्य सामाग्रीको लोकप्रियता
यसको माग, उत्पादन र प्रयोग
विस्थापित भए परम्परागत सामाग्रीहरु
तर
शायदै कसैले सोचे होलान्-
प्लास्टिक आविस्कार र उत्पादनले ल्याएको
खुशी र सुखभोगको उन्माद
कालान्तरमा चुनौतीको पहाड बन्न सक्छ
प्रयोगको सहजता र व्यापकता हेर्दा लाग्छ-
यो शताब्दी र यसपछि पनि
प्लास्टिकबिनाको मानवजगत्
स्वप्निल कल्पना हुन सक्छ
यसको सम्पूर्ण निषेध
असम्भाव्य र अव्यवहारिक हुन सक्छ
जसरी कम्प्युटर, फोन, इन्टरनेटजस्ता प्रविधिबिना
वर्तमान विश्व नाकाम हुन सक्छ
तर वातावरणमैत्री विकल्प खोज्न सकिन्छ
व्यवस्थापन चुस्त र कामयाबी बनाउन सकिन्छ
मानव-सभ्यताको इतिहास साक्षी छ-
आविष्कार, खोज, परिवर्तन
र विकास चिरस्थायी नहुन सक्छन्
तिनको अनुचित र उन्मादी प्रयोग
अतिशय घातक हुन सक्छन्
जस्तो कि भयग्रस्त छ विश्वसमुदाय आज
अणु-परमाणु बम, जैवीकअस्त्रजस्ता
आविष्कार र उत्पादनले
त्यसैगरी
प्लास्टिकका नकारात्मक पक्षहरूलाई नजरअन्दाज गरेर
विवेकपूर्ण प्रयोगमा बिर्को लाग्यो भने
दूरगामी बहुआयामिक असरबारे
अक्कल भएन भने
व्यवस्थापनमा बेवास्ता गरियो भने
उत्पादन कटौती र न्यून प्रयोग,
विकल्पको खोजी र अवलम्बन,
एकल प्रयोगमा रोक, पुनर्प्रशोधन
अनि समयमै मर्मतसम्भार
र पुनर्प्रयोग गरिएन भने
अनि यही अनियन्त्रित रफ्तारमा
उत्पादन र प्रयोग बढ्दै गयो भने
कसले रोक्न र जोगाउन सक्ला र ?
मानवजाति, सजीवमण्डल, वायुमण्डल
र समग्र पारिस्थितिक प्रणाली
विषाक्त, अस्वस्थ र असन्तुलित हुनबाट

वातावरणीय सचेतना जागेन भने
नियमनमा दह्रोसँग कदम चालिएन भने
प्लास्टिक प्रदूषणको विनाशक दुष्चक्र
अनि विद्रूप र लज्जाजनक दृश्य
जुन वर्तमान विश्व समुदायले देखिरहेको, भोगिरहेको छ
जुन हाम्रो राष्ट्र र हामीले भोग्न अभिशप्त छौँ
जसबाट जनजन जैविक विवधता प्रताडित छन्
जसको कारण पर्यावरणीय सङ्कटहरू
गहिरिँदै छन्
जुन जीवन र जगतकै कठोर
चुनौतीका पहाड बनेर
ठिङ्ग उभिइरहेका छन्
चानचुने विषय पक्कै पनि होइन
ती चुनौतीका पहाड भत्काउनु
वैश्विक साझा विषय हो यो
तर असम्भव भन्ने केही छैन
जुनसुकै मूल्य चुकाउन किन नपरोस्
विकल्प छैन वातावरणीय पुनर्स्थापनाको
के हुन्न र असल नागरिकको पनि वातावरण संवेदनशील सामाजिक दायित्व ?
नफालौँ प्लास्टिकजन्य सामग्री जथाभावी
नजलाऔँ भुलेर पनि कदापि यसलाई
नगरौँ विकल्प भेटेसम्म यसको प्रयोग
न्यून र पुनर्प्रयोग गरौँ विकल्प नहुँदा
गर्न सक्छौँ हामी स-साना कामहरू
ठूलो हुन सक्छ स-साना कामको योगफल
हुन सक्छ विश्वव्यापी त्यसको असर
अब जागौँ, हटेर होइन डटेर लागौँ
प्लास्टिकमुक्त युग निर्माण अभियानमा हातेमालो गरौँ ।