मीठो छ भन्दैमा मन्दविष नखाऊँ
सुकिलो छ भन्दैमा नाइलन नलाऊँ
वनपाखामा बजेको बाँसुरी सुनौँ अनि
ताल मिलाएर रैथाने गीत गाऊँ।
-१-

काठको तस्करी रोक्नुपर्छ सबै मिलेर
तस्करलाई समाएर ठोक्नुपर्छ सबै मिलेर
अपराधीहरू वारि नआऊन् दिनका लागि
संकेत स्वरुप खोक्नुपर्छ सबै मिलेर।
-२-

सुविधा हुन्छ भन्दैमा शहर नताकौँ
गाउँमा पसिना बगाउन कोही नथाकौँ
सजगता अपनाऔँ दीर्घायुका खातिर
तसर्थ रोग ब्याधिहरू डाक्दै नडाकौँ।
-३-

केतुके धाराको पानी पिउनुस् है मजाले
अनि निर्धक्क भएर जिउनुस् मजाले
रोगहरूले फटालेका कैयन् अंगहरू
मधुर गीत गाउँदै सिउनुस् है मजाले।
-४-

विकासी भाले पनि बेलुकै बास्छन् यहाँ
ठिटाठिटी नक्कली प्रेम गाँस्छन् यहाँ
प्रेमीले मायामा धोका पाएर को भो र
प्रेमिकाको फोटो छातीमा टाँस्छन् यहाँ।
-४-

शहरमा बस्दाबस्दा गलिसक्यो ज्यान मेरो
विषादी खानपानले जलिसक्यो ज्यान मेरो
मजाले रमाउँछु भन्थेँ शहरमा बसेर तर
घाटको चिता ताक्दै ढलिसक्यो ज्यान मेरो।

बूढानीलकण्ठ,
काठमाडौँ।