आउन त आयौ
निकै अबेर गरेर आयौ
फूल झर्ने झर्ने बेला आयौ
खहरे सुक्ने सुक्ने बेला आयौ
धेरै पर्खेथें घाम च्यापेर तिमीलाई
तर जूनको हात समातेर
रात खसेपछि मात्र आयौ

थाहा छैन
के के सपनाहरू कुम्ल्याएर आयौ
के के जपनाहरू जपेर आयौ
पीर लाग्छ-
क्लान्त घाम पश्चिमाकाशमा सुस्ताउँदै गर्दा
तिम्रो ओसिलो संघारमा न्यानो नपुग्ला
समुद्रका छालहरूमा मलाई नभेट्दा
बगरहरूले तिम्रो कुरा काट्ला

म सपनाहरूदेखि आजित आजित भएर
सबै सपनाहरू मन्साउँदै
रित्तै हात फर्केको मान्छे
जे छ मसित आज-
एउटा मन मात्र छ
जे मैले दिन सक्छु आज
एउटा काँध मात्र छ

जे होस्,
तिमी अबेरै आए पनि –
तिमी आउनु भनेको
फूल झरे पनि मन फुलिरहनु हो
घाम डुबे पनि
मन उज्यालिरहनु हो
रात परे त के भो र ?
आँखाभरि जूनकिरी उडिरहनु हो

आउन त आयौ
निकै अबेर गरेर आयौ
फूल झर्ने झर्ने बेला आयौ
धेरै पर्खेथें घाम च्यापेर तिमीलाई
तर जूनको हात समातेर
रात खसेपछि मात्र आयौ ।
******
बेलायत