बाफिएर घाममा
पहाडहरू बिउँझाएर
समथर तराई उठाएर
पग्लाएर सेता हिमाल
टपक्क टाँसेर छातीमा देश
परिवर्तनको बिगुल फुक्दै
गणतान्त्रिक नेपालका निम्ति
सुशासनको पर्खाइमा
त्यागेर भोक तिर्खा
सुन्दर देशको परिकल्पनामा
दिएर आहुति के पाए जनताले?
नयाँ युग?
नयाँ संरचना?
खै कता छ सुशासन?
खै समानता?
के तिम्रा भाषणमा
ताली लाउनु मात्र
गणतन्त्रको प्रतिफल हो?
कमिशनमा रमाउने
भ्रष्टहरूको फोहर
स्वार्थी नियत
कहिले सफा हुन्छ?
कहिले फेरिन्छ?
कहाँ छन् हाम्रा उर्वर युवा शक्ति?
कहाँ बदलियो परिस्थिति
नेपालीका रक्त पसिना
परदेशी भूमिमा
बिच्छीहरूसँग जुधेर
कि रेमिटयान्सको अत्तरसँग
रातो बाकसमा
फर्किनु
गणतन्त्र हो
मैले बुझ्नै सकिनँ
यो कस्तो गणतन्त्र !

सुनिता प्रतिबिम्ब
बुटवल