जागौं न हे अब प्यारा
त्यागेर द्वेष सारा
मनका मयल फाली
चम्कोस् हाम्रो सितारा !
वृथा हुन्छ बढी सोच्नु
समय उदेकलाग्दै छ
निर्विवाद वर्तमान
दुर्भाग्यपूर्ण नै छ !
रोइरहेछ इतिहास
जहिल्यै अश्रुपूरित छ
विकास निर्माण सबै
सधैँ परिहासयुक्त छ !
मनोमालिन्यता नै
बढ्दैछ नि हा ! दिनदिन
विकासकै मर्ममाथि
भैरन्छ चोट सबदिन ?
विरोध र विद्रोहले
विप्लव नै जन्माउँदछ
अराजक हिंस्रक स्थिति
प्रलय नै निम्त्याउँदछ !
धूमिल छ क्षितिज सधैं
तुवाँलो ढाकिरहेको
मनमा परिवर्तनकै
सबैले आश लिएको !
बदलौं न आफ्ना सोच
मनका समस्त संशय
समाप्त होऊन् संकट
बाँचौँ हामी निर्भय !
सबैसित मैत्रीभाव
आजको यै विकल्प छ
मिटीजान्छ वैरभाव
मनमा यदि संकल्प छ !
दिनानुदिन विदेशमा
लालहरू मर्दा छन्
कस्तो हाम्रो उन्नति
जन विरक्त विह्वल छन् !
यो बोध पूर्ण सत्य छ
चेतनाकै महत्त्व छ
रक्षा गरौं देशको
नभए त कहाँ भविष्य छ ?

कवि टोल,
विराटनगर –१४
कोशी