मात्र एउटा मुख छ साथी
यसमा बिर्को लाउने गरी खाऔँ
खानेकुरामा कन्जुस पटक्कै होइन है
दिनको ५० लाख मात्र किन ?
५० करोड रुपैयाँ लिनू
बरु अलिकति– चियोचर्चो गर्ने
आसेपासेलाई दिनू
मिलेर खाएपछि
यसको विष कसैलाई लाग्दै–लाग्दैन

सबै पदको विशिष्ट पहिचान
खाने नै भएपछि
जसले धेरै कमाउँछ उनै
ज्यूँदै स्वर्ग जाने भएपछि
रत्तिभर डर भन्ने कुरो मान्दै नमानी
असल नेता बन्न खानू
इमान्दार कर्मचारी भन्न खानु
उत्कृष्ट व्यापारी हुन खानु

सुशासनले यमराजको बुई चढिसक्यो
पदशासनको गरिमा बढाउन खानू
मन्त्री बनेर खानू, सचिव बनेर खानू
प्रमुख अड्डाको प्रमुख बनेर खानू
अन्यायलाई बेच्न सक्ने– नामी बनेर खानू
सबैलाई भागबिलो लगाउने– दानी बनेर खानू

सबैले मिलेर खाएपछि
खाद्य पदार्थ मात्र होइन
३३ क्विन्टल सुन पच्छ
दुर्गममा कहिल्यै नपुग्ने
चामल र नुन पच्छ
पचास लाख पच्छ
सत्तरी करोड पच्छ
भूकम्पको–त्रिपाल काण्ड पच्छ
तराईको साइकल काण्ड पच्छ
वाइड बडी पच्छ
बालुवाटार र सिंहदरबार पच्छ
यति र ओम्नी मात्र होइन साथी
सबैको घुम्ने कुर्ची पच्छ
लाजशरम पच्छ
इमान‑जमान अनि
नैतिकता र सदाचार पच्छ
सबै काण्ड र सबै आन्दोलन पच्छ

सबै मिलेर खाएपछि,
सबै दल र वादको विवाद मिल्छ
मरेको भोलिपल्टसम्म
रिटायर्स हुन पर्दै–पर्दैन
१२ रेक्टरको भूकम्पले समेत
आफ्नो पदमानलाई हल्लाउन सक्दैन
कात्रोभित्र समेत सयौँ गोजी
सिलाउन पाइन्छ
नर्कमै भए पनि
संवैधानिक निकायको प्रमुख पद
मिलाउन पाइन्छ
त्यसैले आउनुहोस् साथी
एनिहाउ, सबै मिलेर खाऊ ।

काठमाडौँ, नेपाल