वनवृक्ष र पाखापहरा नै हो जीवनको आधार
आधारै छोडी रमाउँदा हुन कसरी गाउँबस्ती र शहर
चित्तचोर रुप अनि अनुपम छ आभा
जैवीक रत्न हुन प्रकृतिका अनमोल सुनगाभा
संसारभरि छरिएका नाम छन् थरिथरि
लट्ठिँदा हुन जम्काभेटमै सुन्दर देव र परी

हजारौं प्रजाति छन् तिनका अरुकै भरमा बाँचेका
सहारा दिने परिवेशलाई सुशोभित पारी हाँसेका
पहराको भित्ता अनि वनवृक्षकै छ माया
पवनमण्डलमा झुल्छन् जरा घाम होस् या छायाँ
उपयोगी गुण छन् धेरै सुरम्य तिनको कायामा
गर्दैनन् हानि कसैलाई र त बॅाचेका छन् मायामा

रङ्गीविरङ्गी फूल फुलाई रमाउॅछन् यसैमा
जे मिल्छ प्रकृतिबाट चित्त बुझाउॅछन् त्यसैमा
वनबाट उखेलिन्छन् ती घरआँगन सजाउन
वासना तृप्तिको लागि हो या मनको सन्ताप घटाउॅन
शक्तिवर्धक टनिक अनि बनाइन्छ दबाइ थरिथरि
सर्वप्रिय हुन्थ्यो किन नभइकन सर्वगुणकारी

खोजेर नि भेटिंदैन कतै केही बैगुन
ठान्दारैछन् कतिले त प्रेम र भाग्यको सगुन
कति मुलुकका त रहेछन् यी गौरव र पहिचान
प्रकृतिका अमूल्य निधि ठूलो छ यिनको मान
सुन्दरता र मादकता छर्दै फैलिएका छन् पृथ्वीभरि
मनोहर्ता रूपरङ्ग यिनको साध्य छैन बयान गरी

मधुमख्खी, मधुकर आदि रस-माधुर्यमा झुम्मिन्छन्
पन्क्षी, बॅादर, लोखर्केहरू फल आदिमा रमाउॅछन्
सेवारत छन् अरै निम्ति हुँदा नि आफू वञ्चित
लुछिँदा, चुँडिदा, नासिँदा-मासिँदा समेत छैन गुनासो किञ्चित्
स्वार्थ र मोह देखिन्न यिनको कहिल्यै पनि रत्तिभर
अन्तर्निभर छ जीवन-जगत् यति नबुझ्ने कोही छ र ?

अरुको वास उजाडेर आत्मरतिमा किन रमाउॅनु
परिवेशको शोभा लुटी घरआँगन किन सजाउॅनु
ज्ञान र प्रविधिमा प्रवृत्त भइ किन बनाउनु वर्णशङ्कर
दोहन र संहार गर्नेकै यहाँ देखिन्छ ठूलो अहंकार
लालसा र आसक्तिको हुन्छ र कतै सीमारेखा ?
प्रकृति हो सबैको साझाघर गर्नु हुन्न अनदेखा

निमोठेपछि कोपिला नै फुल्ला र फूल फेरिफेरि
अस्तित्वमै सङ्कट आए झुल्ला र त्यो कसो गरी
देखिएला र सौन्दर्य कहाँ वोटै उखेली फालियो भने
रहन्छ पक्कै अस्तित्व तिनको दीगो संरक्षण थालियो भने
जैवीक विविधता र सहअस्तित्व स्वीकार गर्न सक्नुपर्छ
प्रेम र करुणा जगाउन चेतनाको दीयो बाल्न सक्नुपर्छ ।

बाफल, काठमाडौँ