खासमा तिमीसँगै बसेर कफी पिउने सोचेको थिएँ
तर अहिले हेर न, तिमीलाई सम्झिँदै बियर पिइरहेछु

भाग्यमा थिएन भनौं कि समय गलत थियो
तिमीले मलाई छोडेउ, महिले तिमीलाई

ए… साँचै…
तिमी त — “म तिमी बिना बाँच्न सक्दिनँ” भन्थ्यौ
फेरि, यति चाँडै कसैको अँगालोमा कसरी पर्‍यौ ?
कि पैसा, पद र पावर नै जिन्दगी हो?
यदि तिम्रो लागि यही नै जिन्दगी हो भने —
तिम्रो र मेरो परिभाषा नै अलग छ

मैले तिमीलाई आफ्नो शतप्रतिशत दिएको थिएँ
शायद केही कमी गरेको भए, पछुतो हुन्थ्यो
र त, यति ढुक्कले रम्न पाएको छु —
मलाई ‘म’ हुनुमा गर्व छ र तिमी मेरो नहुनुमा पनि

अचेल एउटै शहरमा भएर पनि बेखबर छौं
समयले भेटाउनु थियो, भेटायो र छुटायो पनि
एक मन त किन भेटियो लाग्छ
अर्को मन सबै ठीकै भयो लाग्छ
यो मनले मनदेखि मनभरि मन पराएको छ
भन्ने मन पनि अचेल खुब बेमन भएको छ

खास भेट्नु सपना थियो र छुट्नु – नियति
यो सबै समयको खेल हो
तिमी र म त बस पात्र न हौं !
जबरजस्त अभिनयका लागि तिमीलाई साधुवाद

मेरा यो भावनाहरू माया गर्नेहरूका लागि
मायामा सपना बुन्नेहरूका लागि
धोका खानेहरूका लागि
र अन्त्यमा,
चिन्ता नगर मभन्दा राम्रो पाउँछौ
भन्दा मुस्कुराउनेहरूको लागि ।