अवनी कुमार भागवती

नदी अझै बगिरहेको छ
खोलाहरू नदीमा मिसिएका छन्
जलकुम्भीका थुम्काहरूले
धारलाई अनुकूलता दिन्छन्–
नदी बगिरहेको छ

शहरहरू पनि खोलाजस्तै
नदीतर्फ बगिआएका छन्
सभ्यताले घाँटी अँठ्याएर
नदीलाई अँगालो हालेको छ

माछाहरूले बिदा लिएका छन्
सोँसहरू अदृश्य भए—
शङ्खेकिराहरू सिपी भएर
बालुवामा चम्किरहेका छन्

अशान्त काँसहरू शान्त भएका छन्
बिदाइको बेलामा चुपचाप सुँक्कसुँक्क गर्दैछन्—
नदी बगिरहेको छ

तल बालुवा देखिएको पानीको
रसायन बदलिएको छ
निथारहरूले ग्लानि उक्लँदैछन्
ढुङ्गाहरूले नदी छोडेर
शहरतिर यात्रा आरम्भ गरे—
नदी बगिरहेको छ

चर्न गएका गाईहरू
घाटबाट फर्किरहेका छन्
पानीमा अपरिचित गन्ध
बालुवामा बनियाँका पाइला
आमाको पछिपछि
तृष्णातुर बाच्छाहरू

अस्ताउँदो आकाश धूलोमय
नदीको छाती हुँदै शहरको कुहिरो
मरेको रूखतिर फर्किरहेको छ
एउटा थकित बकुल्ला

नदी बगिरहेको छ।
xxxxxxxxxxxxxxxxxxxxxx

मूल असमिया पर्या कविता: अवनी कुमार भागवती
अनुवादक: डा. देवेन सापकोटा
(पारिपार्श्विक कविता, सन् २०२३, सम्पादन: प्रकल्प रञ्जन भागवती, पृष्ठ: ७२-७३)