तिम्रो अस्मितामाथि
धावा बोलेका थिएनन्
ती गमलाहरूले
बस् मुस्कुराएर केही थान फूलहरू
छरेका थिए सुवास
ती शिशाहरूले
ती भित्ताहरूले
कहिल्यै गरेका थिएनन्
तिम्रो अपमान !
कहिल्यै उडाएका थिएनन्
तिम्रो अस्तित्वको मजाक !
बस्
कैद गरेका थिए आफूभित्र
एउटा लामो इतिहास
फुटाएर ती गमलाहरू
तोडेर ती शिशाहरू
भत्काएर पाठशालाका
ती शान्त भित्ताहरू
देखाएर निर्लज्ज अहङ्कार
भो
नबोके हुन्छ
कसैले सत्ताको अभिमान
फुटेका गमलाहरू
टुटेका शिशाहरू
भत्किएका भित्ताहरू
डराउँदैनन् तिम्रा दुस्सहासी प्रयाससँग
ती तत्पर छन्
बोकेर उठ्न
फेरि
एउटा नयाँ उमङ्ग
एउटा नयाँ विचार
र बन्न कालजयी प्रमाण
तिम्रा बर्बरताको
याद रहोस्-
जति नै लगाए पनि
विश्वविजयको स्वाङ
धेरै बेर टिक्दैन रणभूमिमा
आयु अहङ्कारको
दुर्योधनहरूको !
हिटलरहरूको
पोलपोटहरूको
अहङ्कार नेतन्याहुहरूको ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ माघ २०८२, शनिबार 










