जीवन एउटा नदी हो
नदीले किनार नबाँध्छ,
जहाँ बाटो खुल्छ, त्यही बग्छ
जहाँ रोकावट आउँछ, त्यहीँ बाटो फेर्छ
त्यस्तै हो जीवनमा मान्छेहरूको यात्रा
कसैलाई रोक्न सकिन्न
जसलाई जानु छ, जान दिनुपर्छ
जबर्जस्ती समातेर राख्नु
हावालाई मुट्ठीमा थुन्न खोज्नु सरह हो
कति साथ वाचा गरेर बाँचिन्छ
कति अग्नि साक्षी राखेर कसम खाइन्छन्
तर जब मनका बाटाहरू फरक हुन्छन्
त्यहाँ बन्धनले बाँच्न सक्दैन
त्यहाँ प्रेम दबिएर मर्छ
बाहिरका आँखाले सजिलै निर्णय गर्छन्
एकले भन्छ– “ऊ दोषी”
अर्काले भन्छ– “यो अन्याय भयो”
तर भित्रको युद्ध कसैले देख्दैन
अश्रुहरू, चिच्याइरहेको मौनता
र रातभर निद्राले नछोएको हृदय
जाने मान्छेलाई जान देऊ,
फेरि फेरि उसको छाया पछाडि घिसारेर नहिँड
उसको सम्झनामा टोलाएर
आफ्नै वर्तमान नष्ट नपार
हिजो मिठास थियो
हिजो सम्झनामा मख्ख पर्ने पलहरू थिए
तर आज ती कुरा ढुंगा बनेर बोक्नुको अर्थ छैन
जिन्दगी हरेक बिहान नयाँ पानामा पल्टिन्छ
हामी नयाँ शब्दहरू लेख्न सक्छौँ
र आउँछ नयाँ मान्छे,
नयाँ सम्बन्ध, नयाँ आशा
तर पुरानो घाउमा औंला हालिरह्यौं भने,
कसरी नयाँ फूल उम्रन्छ?
कसरी नयाँ सूर्यले मुटु तताउँछ?
जीवन यत्रा हो,
सहयात्रीहरू बदलिन्छन्
तर यात्रा कहिल्यै रोकिँदैन
हरेक जाने मान्छेले केही सिकाउँछ
हरेक आउने मान्छेले केही आशा ल्याउँछ
छोडेर गएका यादहरूलाई मिठासले बिदाइ गर
नयाँ हातहरू अँगाल्न आफ्नो हृदय खुला राख
आकाशमा उड्न खोज्ने चरालाई थुनेर राख्न सकिन्न
त्यसरी मुटुमा पनि बाधा राखेर प्रेम बचाइँदैन
जिन्दगीलाई ढाडस देऊ
नयाँ सपना सजाऊ
पुरानो घाउमा मलम लगाऊ
र मुस्कुराउँदै भन्न सिक–
“जो गयो, राम्रै भयो
जो आँउछ, उज्यालो ल्याओस्।”
तिमीले बाँच्ने जिन्दगी तिम्रो आफ्नै हो
अरुको सम्झनाले तिम्रो यात्रा नरोकियोस्
तिम्रो मुटुमा पुनः सपना उम्रिरहोस्
त्यसैले–
जानेलाई प्रेमका आँशूले बिदाइ गर
आउनेलाई स्वागतका फूलहरू बिछाऊ
र जिन्दगीलाई मुक्त, विशाल र समुन्नत बनाऊ
किनकि अन्ततः —
जिन्दगी त धैर्यको पर्व हो
सम्झनाको नदी हो
र प्रेमको अनन्त यात्रा हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 









