म उकालो चढ्नै सक्तिनँ
के गर्नु शिखर चढ्नै छ मलाई
शिखरयात्रीहरूका अनुहारको यानमा बसेर
बढ्ने तरखरमा छ मेरो सपनाको यात्रा
तरुण तपसीमा अल्झिन खोजें
र पिंजराको सुँगा जोडें
झम्म दाह्री नपाली कसरी लेखनाथ हुने ?
दुरुस्त पारें दाह्री
न तरुण तपसी बन्यो,
न पिंजराको सुगा छन्द न बन्द भो
मुनामदन लेखौं कि जस्तो लाग्यो
ख्यातिको शिखरमा यी पनि छन्
र, चुरोटका खिल्लीहरु चेप्न लागें
औंला डढे कोठा धूमाकाश झैँ भयो
निस्सासिएर खोक्न थालें
मरौं कि बाँचौं जस्तो भयो
न म भेडो भएँ न यात्री
पागलसम्म हुन्थेँ कि समयले साथ दिएन
कार्चोपी भिरेँ र रामायण लेख्न बसेँ
न सीता को थिइन् थाहा थियो
न राम कहाँका हुन् ?
छेउ न टुप्पो कुदेछन् बूढा भानुभक्त
वाल्मीकि र व्यासको स्केच बन्दै बनेको छैन
यात्रा त गर्नै थियो सपनाको
लामो दौरा भिरेँ र कालो टोपीमा सजिएँ
खानदानी लौरो उठाएँ र
राजधानीका दोबाटाहरू कुर्दा पनि
न इन्दिरा आइन् न मुकुन्द
कसरी बनौं म खानदानी सम ?
भादगाउँले टोपीलाई डुंगा बनाएर
स्वतन्त्रताको लेपमा
समाजवादको भाष्य टाँस्ने प्रयास गरें
पाल्पाली ढाका टोपी फेरें र
कालो चस्मामा उभिएँ
न विश्वेश्वर बनें
न राष्ट्रवादको आँत बचाउने कुनै राजा
शिखर चढ्ने अर्को प्रयास पनि असफल
केही महिना झुस्स दाह्री पालेँ
तोरीको तेलले चिल्लै पारेँ
कपाल पनि तालुतिरै चटक्क फर्काएँ
राता गाता भएका पुस्तक पल्टाएँ
कुनै दिन बोकेदाह्री मात्रै थिए
गालामा कालो कोठी र हरिया सुट भिरेँ
मानिसहरू त भ्रमित हुन्थे
मलाई देखेर तर के गर्नु
न मार्क्सको अवतार बनेँ, न लेनिन र माओ
नियतिले मलाई उल्टै जारमा अनूदित गरिदियो
मलाई लाग्यो
कमेज सुरुवाल फालौँ र कछाडमा कुदौँ
कुप्री पर्दै लठ्ठी टेकौँ
तालु त सफाचट छँदैछ
सेतो चस्माले केही दिन आँखा छोपेँ
गान्धी बन्ने साहस नै जुटेन
विकल्प त छँदै थियो
गेरु वस्त्र पहिरिएर
पीपलको फेदमा आसन जमाएँ
ओम् मणिपद्मेहम्
बुद्ध हुने बाटै फेला परेन
कहिले म रजनीश प्रवचनमा पुग्छु
हात ठाडो पार्छु र नाच्छु
नभोगी मुक्ति हुन्न कि जस्तो लाग्छ
कहिले गिर्जाघर, कहिले मस्जिद
खेती चलिरहन्छ परिवर्तनको
कहिले राजा कहिले हिट्लर
कहिले हिम्यान
नीलो रङले पोतिएको चतुर स्याल जस्तो
प्रत्येक दिन रङ फेर्दै
गर्धवावतार मान्छेमाथि सवार भएर
शिखर चढ्नुको मज्जा नै बेग्लै ।
वुनपा १०, कपन, नारायणचोक



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 




