म आज एउटी आमा बन्न योग्य भएकी छु
किनकि मेरो प्रथम रजस्वला भएको छ
वर्षौंदेखि बनिँदै आएका यी कणकणका घरहरू
आज अनायासै भत्किरहेछन्
अनि नै त मेरो प्रथम रजस्वला भएको छ
पेटको दुखाई अनि कम्मरको झन्झनाहटले
म मेरो एकएक थोपा रगत बगाउँदैछु
तर आमा
तिमी भने किन आँसु बगाउँदैछौ ?
हुन त
म जस्तै मेरा दुईवटी दिदीलाई जन्मन दिइएन
बुवाको करमा तिमीले गर्भपात गर्नुपर्यो
त्यति भएर पनि फेरि म आएँ छोरी भएर
तर, तिम्रा निम्ति भने सजाय र समस्या भएर
जब शिशुको स्वास्थ्य जाँचको निहुँमा जाँच गरियो
अनि तेस्रोपटक पनि छोरी नै ठहरियो
म पिण्ड बगाउन अयोग्य छोरी हुर्कँदैथिएँ तिम्रो पेटमा
तर, जिउँदोलाई खान पिण्ड सरह केही थिएन
भएको घरबारी सबै बेचेर
छोराको झिनो आश लिई सुटुक्क हिँड़े बुवा
सायद
त्यहीदिनबाट हुनुपर्छ
तिमीले सूर्यको रातो लालिमा र हरिया चउर न रूचाएको
अनि नै त हो
त्यो लालीमा हरियो चउरमा छरिन नपाएको
जसरी
हरिया पोतेमा रातो सिन्दुर
अरूका स्वास्नी लोग्ने नभएर विधुवा भए
तर, तिमी आमा
लोग्ने भएरै पनि विधुवा भयौ
तिमी आज पनि भन्नेगर्छौ आमा
चौंसुर र मेथी मिसाएर खाए थकान मेट्छ
कागती पानी घोलेर खाँदा पेट शीतल हुन्छ
हुन त
खेताला गरेकै पैसाले मेरा लागि कोक्रो बनियो
अरूका घरमा काम गर्दा गर्दा मेरो लुगा किनियो
मेरो टाउको सुन्दर बनाउन तोरीको सिरानी चाहिँदा
तिमीले मलाई सुन्दर अनि आफूलाई कुरूप बनायाँै
अनि अहिले पनि
मेरो थकान मेटाउन चौंसुर र मेथी ल्याउँदा
म सम्झन्छु ती अतीतका दिनमा
तिम्रो थकान मेटाउन चौंसुर र मेथी कसले दियो होला ?
आज आमा मलाई धेरै थकाई लागेको छ
चौंसुर र मेथीको सट्टा
यी दुईवटा पोका किन दिँदैछौ ?
कागती पानीले पेट शीतल गराउने बेला
यसरी पेटसँगै मेरो मन किन जलाउँदैछौ ?
हुन त
पैंचो माँगेको घरेटी पनि हामीसँग छ
तर, थाहा छैन कुनदिन त्यो पैंचो तिर्नुपर्ने हो
तिमी अबला बिचरी अनि म सानो छँदा
खान लाउन अलि धौ धौ पर्दा
तिम्रो यौवनमा मुखियाको कालो नजर नपरेको हैन
अनि, अनैतिक सम्बन्धको प्रस्ताव पनि
न आएको हैनकति आँटिली थियौ तिमी
अनि सहजै अस्वीकार गरी गर्जियौ
तिमीभित्रको नारीत्व जाग्दा, मुखियाको शैतान जाग्यो
अनि नै त …
लोग्नेसँगको जस्तो साथ
माँगी मुखियालाई भनी अभियोग लगाइयो
मुखियाको कालो कर्तुतलाई सुनपानी छर्कियो
तर, तिमीलाई सहानुभतिको
शब्दसम्म खर्च गर्न चाहेनन्
तर, अहँ तिम्रो मनोबल रत्ति पनि घटेन
तिमीलाई लाञ्छना लाउन
पछि नपरेको समाज हो यो आमा
अनि आज..
रजस्वला भएकी छोरीलाई
नराख् भन्दा तिमी साँच्चै राख्दिनौ हो ?
पोहोर साल रजस्वला भएकी ददीलाई टुंग्सीमै पहिरोले लग्यो
अनि हिजो अस्ति
साइबाकी छोरीलाई गोठ मै बलात्कार गरियो
छोरी अब ठूली भई भनी डराउँछौ पनि
अनि ती बलिन्द्र अश्रुधारा झार्छौ पनि
मेरा लागि यति धेरै त्यागेकी मेरी आमा
तिम्रो मन राख्नै भएपनि जान त जौला
तर
एक थोक सोध्छु है
भरे मसँग पनि त्यस्तै केही भइगए
दोष आफूलाई दिन्छौ कि रूढीलाई ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।