बटुवा र बाटोहरुलाई,
घुम्ती र दोबाटोहरुलाई,
भरिया र भारीहरुलाई,
पसिना र छहारीहरुलाई,
भेट गराउने चौतारी,
आफू बिछोडिएको भने
वर्षौँ भइसक्यो ।

यो चौतारी प्रेमीहरुको प्रेमको साक्षी बस्दाबस्दा
बूढो भइसक्यो,
तर ती प्रेमीहरु फर्केर आएनन्,
जसरी भगवानलाई साक्षी राखेर
कसम खानेहरु फर्किएर आउँदैनन् ।

हरकोही चौतारीमा विरह सुसाउँछ,
तर, आफ्नै छातीमा रोपिएका
प्रेमका वरपिपलहरुमा,
कहिले वर मर्छ
कहिले पिपल मर्छ,
कसैलाई सुन्नु छैन चौतारीकै छातीमा हुर्काइएका
वरपिपलका दुर्घटित प्रेम कहानीहरु,

तिमीहरु आउँछौ,
चौतारीको शितलता खोसाखोस गर्छौ,
आफूले खुब प्रेम गर्ने गरेको बताउँछौ र जान्छौ
कहिलेकाहीँ आफैँ चौतारी बनेर हेर न,
जहाँ, उपहारस्वरूप आउँछन् केही सुस्केराहरु
तिमीलाई साक्षी राखेर बन्छन् नयाँ जोडीहरु,
तिम्रै काखमा आएर भक्कानिन्छन् विछोडहरु,
तब लाग्नेछ,
अब त चौतारीका कथाहरु सुनिदिऊँ ।

जसका, तिम्राभन्दा धेरै व्यथाहरु छन्,
तिम्राभन्दा लामा विगतहरु छन्,
तिम्राभन्दा गहिरा प्रेमहरु छन्
तैपनि चौतारीले चौतारी हुनुको कर्तव्य भुलेको छैन,
आफू हुनुको महत्त्व बिर्सेको छैन

तर तिमी ?
तिमी, मान्छे हुनुको महत्त्व भुलेर,
त्यही चौतारीकै पिपलको एक हाँगामा,
प्रेमको नामको पासो लगाएर
झुन्डिरहेको हुन्छौ ।
जबकि चौतारी स्वयं वर्षौँदेखि एक्लो छ,
तर बाँच्न बिर्सिएको छैन ।

हेरन चौतारीले झन्
आफ्नो कथा भन्ने साथी नै पाएन,
तैपनि सहृदयी स्वागत गरिरहन्छ
तिम्रा हरेक आगमनहरुमा
जसरी तिमी कोही अरुलाई स्वागत गर्थ्यौ
अनि सुन न, म पनि त्यही चौतारी हुँ ।