ममता पन्त मिश्र

तिमीलाई खोजेँ मैले
जहीँतहीँ खोजेँ
सडक-सडकमा खोजेँ
अनि गल्ली गल्लीमा खोजेँ
ती सुन्दर मन्दिरभित्र चम्किएका
सुन्दर मूर्तिहरुमा खोजेँ
अनि भित्ता-भित्तामा सजिएका
तिम्रा तस्बिरहरूमा खोजेँ
पूजारीको भक्तिमा खोजेँ
भक्तहरुको थालीमा खोजेँ
तिम्रै मन्दिर बाहिरका
भिकारीहरुको भोको पेटमा खोजेँ
खोजे जहीँतहीँ तिमीलाई
टुहुरा बालकहरुको आँसुमा खोजेँ
लुटिएकी चेलीको चोलीमा खोजेँ
सामन्तीहरुको खल्तीमा खोजेँ
खोजेँ मैले तिमीलाई
जहीँतहीँ खोजेँ
आफ्नै भाग्यको रेखामा खोजेँ
अनि कर्मको भागमा खोजेँ
कसैको विश्वासमा खोजेँ
कसैको अविश्वासमा खोजेँ
रातमा खोजे, दिनमा खोजे
हर पल, हर क्षण
मैले तिमीलाई नै खोजेँ
सप्तरंगमा मिसिएर
करोडौँ रङमा मुस्काऊने
हे ईश्वर तिमीलाई,
खै कहाँ-कहाँ खोजूँ ?
जहीँतहीँ दर्दको दलदल
खै तिमीलाई म कहाँ भेटूँ ?

अस्ट्रेलिया