(एक सन्देश… मौनता भित्रको चिच्याहट)
प्रिय साथी,
आज अज्ञात कारणले मन भारी छ
तिमी किन हो, टाढा भएजस्तो लाग्छ
सधैं सँगै यात्रा गर्ने, सँगै संसार जित्ने सपना बाँडेका थियौं हामी
बारम्बार भनेका थियौं — “जिन्दगीभर साथ छुट्दैन।”
त्यो वाचा, आज मनमा घुमिरहेछ
तिमीसँग मेरो भेट बाल्यकालमा थिएन
न त कुनै ठूला अवसरमा —
तर तिमी जीवनमा आयौ
र म तिमीलाई पाएर नतमस्तक भएँ
एकदमै खुसी भएँ
तिमीजस्तो साथी पाएँ भनेर मख्ख थिएँ
तर आज, खै किन यस्तो भयो
तिमी मबाट हराएर गयौ
शायद मेरो मौनता भित्रको चिच्याहट तिमीले सुन्न सकिनौ
आज तिम्रो नाममा मैले एक कविता लेख्नै परेको छ
किनभने मनमा प्रश्नहरूको आँधी चलिरहेको छ
जसका उत्तर मसँग छैनन्
शायद यो कविता कुनै आरोप होइन, हाँसो होइन
तर मेरो मनको चुपचाप वेदना हो
तिमी लाखौंमा एक हौ
तिमी फरक छौ —
तिमीलाई म अरूसँग तुलना गर्नै सक्दिनँ
तिम्रो हक्की स्वभाव, निडरता,
र आफ्नो ढंगमा रमाउने आदत…
तिमी कहिल्यै कसैको मन जित्न अभिनय गर्दिनौ
न त कसैसँग भावना खोल्छौ सजिलै
तिमी जे छौ, जस्तै छौ —
एकदमै ठीक छौ
तर अचानक किन यस्तो टाढोपन आयो?
मैले केही गल्ती त गरिनँ?
तिमीलाई चित्त दुखाउने कुनै कुरा भनेको पनि छैन जस्तो लाग्छ
तिमी मेरो लागि जहिल्यै सकारात्मक सोचमै थियौ
साथीहरू जीवनमा आउँछन्, जान्छन् —
तर कोही कोही यादगार हुन्छन्
तिमी तीमध्ये एउटी हौ
जसलाई मैले मनको रुखमा गाढा जरा गाडेर राखेको थिएँ
तर अहिले त्यो जरा फाटेको महसूस भइरहेको छ
कति रमाइला क्षणहरू बिताएका थियौं हामीले —
हाम्रो मित्रतालाई देखेर अरूलाई डाह लाग्दो थियो
तर अहिले तिमी मसँग छु भन्ने अनुभूति हराउँदै गएको छ
जति समयमा जति पलहरू बितायौं, ती सबै पलहरू मेरो लागि अविस्मरणीय छन्
म अझै पनि तिमीलाई उत्तिकै माया गर्छु —
जति पहिले गर्थें
केवल टाढा भएर होइन, मौन भएर पनि तिमी मबाट टाढा भयौ
तिमी असाधारण छौ —
प्रतिभाशाली, स्वाभिमानी, अनि संवेदनशील
तर म अचम्ममा छु —
किन हामीबीच संवाद हरायो?
न झगडा, न त मनमुटाव —
तर किन यस्तो मौन दूरी?
तिमीसँग दिनहुँ बोल्ने बानी परेको थियो
कतिपय दिन बोल्न नपाउँदा पनि
खुल्दुली लाग्थ्यो —
“कता होला तिमी? के गर्दै होला?”
तर अनायासै तिमी अचानक परिवर्तन भयौ
शायद जीवनमा नयाँ मोड आयो होला —
र तिमी बदलियौ
मैले त्यो परिवर्तन स्वीकार्न समय लाग्यो
तर प्रयास गरेँ
र अझै पनि गर्दैछु
आज म एक्लो छु —
तर तिमीप्रति माया अझै बाँकी छ
तिमीले बेवास्ता गर्दा मन दुख्यो
तर रिस उठेन —
किनभने तिमी मेरो लागि खास थियौ, हौ र सधैं रहन्छौ
मैले तिमीलाई कुरिरहेँ
विशेष दिनहरूमा सम्झिएँ
सन्देश पठाउने आँट गरेँ —
तर तिमीले झारा टार्यौ
शब्द खर्चिनेसम्म पनि हिम्मत गरेनौ
न त तिमीले मलाई मन खोलेर कुरा गर्ने आँट नै गर्यौ
र मैले बुझेँ —
तिमीलाई मेरो आवश्यकता छैन
किनकि तिमीलाई म नहुँदा पनि तिमी खुसी छौ
रातहरू रोएर बिते
मन बुझाउने प्रयास गरेँ —
“शायद अब म उसको आवश्यकता रहेन।”
तर विश्वास गुमेन —
अझै मनमा आशाको एउटा झिनो चिसो उज्यालो छ
तिमीलाई देखाउन माया गर्नु पर्दैन
तर तिमी नबोल्दा पनि
मेरो माया उस्तै रहन्छ —
न त कम भएको छ
न त कहिल्यै हराउनेछ
मलाई अचम्म लाग्छ —
किन तिमी मसँग आँट गरेर पनि बोल्न सक्दिनौ?
किन मलाई “कोही होइन” ठानेजस्तो लाग्छ कहिलेकाहीँ?
यदि तिमी मसँग रिसाएकी थियौ भने पनि
तिमी बोल्न आउँथ्यौ,
सम्झाउने थियौ —
किनकि हामी उच्च तहको साथी हौँ
आज म बुझ्दैछु —
हामी जीवनमा धेरै कुरामा व्यस्त छौं
तर कहिलेकाहीँ लाग्छ
किन म यति सानो कुरामा टोलाउँछु?
तर फेरि सम्झन्छु —
यो त माया हो
मनले गहिरो सम्बन्ध नबिर्सने कुरा हो
मैले तिमीलाई सधैं खुशी चाहेको छु —
तिमी जहाँ छौ, जसरी छौ
सधैं खुशी रहनू
म सधैं तिम्रो सम्झना र यादमा यहीं छु
मलाई त्यसरी बुझेनौ र तिमीलाई मैले जति माया गर्थें त्यो कुरा बुझेनौ र मेरो आवश्यकता छैन भने मलाई त्यसमा पनि केही गुनासो छैन
तिमीलाई माया गर्ने, सम्झने
र तिमीलाई नबिर्सने साथी — म।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ कार्तिक २०८२, शनिबार 








