जीवन यात्रा हो हिंडिरहनुपर्छ
हिंड्दै थिएँ म कतै
एउटा चौतारीमा तिमीसँग भेट भयो
तिमी एक्लै थियौ, म पनि एक्लै
तिमी मुस्कुरायौ, म पनि मुस्कुराएँ
तिमी बोल्यौ, म पनि बोलें
वसन्तको मधुमास
नजिकै वनमा गुराँस ढकमक्क फुलिरहेको
कतै पर धुपिसल्लाको रूखमा कोइली कराइरहेको
खोला सङ्गीतमग्न सुसाइरहेको
पारि क्षितिजमा हिमाल टल्किरहेको
म तिमीलाई लिएर गुराँश नजिकै गएँ
हामी दुवैले गुराँशलाई हेरिरह्यौं
कस्तो अद्भूत सौन्दर्य
कस्तो मोहिनी आकर्षण
तिमी त्यही गुराँशजस्तै त थियौ
मैले दुई थुङ्गा गुराँस टिपें
एक थुङ्गा तिम्रो चुल्ठोमा सिउरिदिएँ
अर्को थुङ्गा तिमीलाई उपहार दिएँ
त्यो एकै छिन पनि
हामी एक-अर्कामा कति डुबेका थियौं हगि !
समयको नियति
हाम्रो गन्तव्य बेग्लाबेग्लै
हिंड्ने बाटो बेग्लाबेग्लै
हामी त्यही चौतारीबाट छुट्नुपर्ने थियो, छुट्यौं
छुटेर पनि तिमी मसित थियौ, म तिमीसित
यादहरूमा डुब्दै-उत्रिंदै एकसुरले हिंडिरहँदा
थाहै नपाई एउटा गीत गुन्गुनाएछु-
‘वरको हाँगो भुईं कहिल्यै छुँदैन
फेरि भेट हुन्छ कि हुँदैन ।‘
हो, वसन्त बहार सधैं कहाँ रहिरहन्छ र !
यो गुराँस सधैं कहाँ फुलिरहन्छ र !
त्यो कोकिलकण्ठ कहाँ सुनिरहन पाइन्छ र !
म पनि त यात्री हुँ, जानु छ कतै
तिमीलाई मनभरि बोकेर म हिंडिरहें
शायद तिमीले पनि त्यसै गर्यौ
पर पुगेपछि
त्यो फूल, त्यो चौतारी, नदी, हिमाल सबै ओझेल परे
फेरि त्यही रित्तो मन, त्यही थकित यात्रा
एकछिनको खुसी त पाहुना पो रहेछ
उही वसन्तमा मात्र पालुवा पलाएजस्तो
अब साँच्चै !
फेरि यो बाटो म कहाँ हिंड्छु होला र !
यही चौतारीमा कहाँ बिसाउँछु होला र !
हिंडें भने पनि
यसैगरी ढकमक्क गुराँस फुलेको बेला
कहाँ आउँछु होला र !
आएँ भने पनि
तिमीलाई यही चौतारीमा कहाँ भेट्छु होला र !
०००



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२५ कार्तिक २०८२, मंगलवार 










