

नीलिमकुमार
एक दिन त्यो दिन आउने छ
जब माछा मार्न जाँदा एक माझीले
झुक्किएर आफ्नै जालमा माछाजस्तै अड्किने छ
र पानीमा डुबेर लगभग मर्ने अवस्थामा पुग्ने छ
त्यसबेला
पानीमा भए जति सबै माछा आएर
जाल च्यातेर माझीलाई मुक्त गर्नेछन्
र धकेल्दै धकेल्दै किनारमा ल्याएर बचाउने छन्
त्यो दिनदेखि माझीले
माछा मार्न छोडिदिने छ
माछाप्रति कृतज्ञताले पानीतिर हेर्दै हेर्दै
सधैँ बसिरहने छ किनारमा
सधैँ त्यसरी किनारमा बसेको माझीलाई
हेर्दाहेर्दै माछाहरू पनि मोहित हुनेछन्
एक दिन त्यो दिन आउने छ
माछाहरूले पखेटा हल्लाउँदै
माझीको खुट्टाको औँलासँग खेल्नेछन्
मानिसहरूको मुख मुखै फैलिने छ
त्यो माझी र माछाहरूको कथा
पृथ्वीका सबै माझीहरूको मुटु
त्यो कथाले छुने छ
र एक दिन
माछा मार्न छोडिदिनेछन्
पृथ्वीका सबै माझीहरूले
यसरी बिस्तारै कुनै दिन
मानिसको मुटुको प्रेमको पोखरीमा
माछाहरू पौडी खेल्दै रमाउनेछन्
मानिसहरूले माछा खान छोड्ने छन्…
यसरी एक दिन माछाहरूले
लेख्नेछन् उनीहरूको इतिहास!
————————
मूल असमिया पर्याकविता: नीलिम कुमार
अनुवादक: डा. देवेन सापकोटा
(पारिपार्श्विक कविता, सम्पादन: प्रकल्प रञ्जन भागवती, पृष्ठ: ९७-९८)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

