समय चिथोर्छ,
फूलहरूको सुगन्ध च्याँप्दै
काँडाझैं निर्दयी बन्छ –
के त्यो बलवान समय सुखका लागि हो,
या दुःखका क्षणहरूको संरक्षक?
रात जून ओढेर
तारा पाेतेर
बिहानीको ढोका खाेलेर जान सक्छ
तर सक्दैन
उज्यालो भएर फेरि फर्कन।
घाम पारिलो दिनसँगै
सपनाको गोधूलि तुच्छिँदै
शीतल रातमा फेरि हुन्छ
पुनर्मिलन।
कहिले
बिहान पीडाको रूपमा उदाउँछ
रापिलो दुःखाइ बनेर चढ्छ
जीवनका उकालाहरू –
भँगालाहरू, मझधारहरू,
सुनामी, लाभा,
छाल र बगरहरू पार गर्दै।
त्यही समय
जुन नुनचुकजस्तै
चरमराएका छात्तीमा दलिन्छ
अन्त्य गर्न
त्रासदीले भरिएका रातहरू।
समय
लडेकाहरूलाई उठ्न नदिने
अदृश्य शक्तिजस्तै
उभिन्छ अस्पतालको बेड छेउ –
न हृदयको पेन्किलर बन्न सक्ने
न सहानुभूति बाँड्न सक्ने।
म हिँडिरहेछु
पेन्डुलमजस्तै –
समयका पदचाप समात्न
शारदी मखमलीकाे लयमा
वासन्ती बहार खोज्दै।
तर
शिशिरको चिसोले
उडाइरहेछ मलाई
काकाकुल गतिमा –
क्षितिज बन्छ समय,
र म लडिरहेछु
उसैले दिएको चोटको मलम खोज्दै
केवल,
बाहिरबाट बाँच्न ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 




