सबैभन्दा प्रिय म
मेरी प्रिया, बाबा–आमा
छोराछोरी, नातिनी र नाति
ढोङ्गीको रोगले
उमेरमै थला पर्नुभन्दा त
मुखाले बनेको धेरै जाती
शक्तिशाली मुखाले बनेपछि
चाकरी र चाप्लुसीका
सुटेड–बुटेड पर भाग्छन्,
हुँइया गर्ने स्यालहरू,
उफ्रिन्छन्, आडम्बरको पर्खालमा ठोकिन्छन्,
अनि मुर्छा पर्छन् ।

कुरा काट्नमै पूरा भएका
अपुराहरू,
मुखालेसँग मुख जुधाउने
दम झिक्दैनन् ।
मुखालेकै स्कुलिङ्मा हुर्कनेहरू
अन्याय र अत्याचारका विरुद्धमा
नमुखाले बन्न सिक्दै–सिक्दैनन् ।
शक्तिशाली मुखाले भएपछि
चम्चे, काँटे र बिर्केहरू
सोचाइमा खोट भएका पिर्केहरू
मुख फर्काउने हिम्मत गर्दैनन् ।

त्यसैले, आउनुहोस्,
न्यारनदेखिको बल झिकेर
मुखाले बनौँ ।
आफूलाई बेफाइदाको फाइदा भए हुन्छ,
कालेलाई काले भन्न सिकौँ,
अनि भालेलाई भाले भन्न सिकौँ ।
चोर, फटाहाहरूलाई
सम्मानको साङलो होइन,
साङ्लोको माला लगाऔँ ।
रातारात उत्पादन भएका
आडम्बरीहरुलाई ,
हामी सबै मुखाले भएर
दिउँसोमै राँको बालेर भगाऔँ ।
जे पर्ला पर्ला,
अब हामी एकपटक सबै
एकजुट भएर,
मुखालेको चियर्स गरौँ ।।