हुनु र नहुनुको अर्थ हुन्न

महत्त्व घट्दै गएपछि,

अर्थ रहन्न समर्पणको

मन मर्दै गएपछि,

सडकमा पोखिएको चित्कार समेट्न

पुनः धोका दिए पनि

झोला त आखिर उही नै हो

आफ्नै अस्मिता लुटिए पनि,

आफ्नो स्वार्थ पूरा भएपछि

अर्थ रहन्न उपहारको

हिरामोति जडे पनि,

के अर्थ र ?

लगनपछि सिन्दुर पोते दिए पनि !

 

थाहा थियो परिवर्तन हुन्छ

तर लागेन काँचुली नै फेरिएला भनी

निःशब्द छु शून्य छ मन पनि

अकारण रितिएको छ ढुकुटी

कागजमा मिलेकै छ थिति पनि

यसरी नै चलिरहेछ

वर्षाैँदेखि खान नपाएर

सडकमा रोएका हजारौं  मन पनि

कहीँ बाढीको चीत्कार

कहीँ पढाइदेउ भन्ने पुकार

सुन्ने कसले ?

निरीहलाई रितै छ हात भने

कसैलाई अधिकार चाहिएको छ

त्यो लडाइँले निरीहका अधिकार खोसिए पनि

के मतलब निरीहको ?

झोला मोटेको भिरेपछि

के गलत के सही ?

ओत लाग्ने ठाउँ ठूलै भेटिएपछि

आफ्नालाई पुस्तै पुग्ने

कुम्लोको जोहो सजिल्यै भएपछि

तिमी सकिए, देश रितिए के फरक पर्छ र

आफ्नो भागको झोला गह्रौं भैदिएपछि ।

 

इतिहास साक्षी छ

झोलाका लागि मारिका थिए

उनी पनि

त्यही झोलाको वजन घटेपछि

लत्रिएको छ अडान पनि

झुकेको छ शिर

त्यही सडकमा वर्षाैँदेखि

भोकै लडिरहेको म

भीडका लागि जम्मा गराइएको मलाई

पत्तै नपाई लुसुक्क

ठूलेको पछि गएर

सम्झौता गरेपछि

अर्को कुनामा रोइरहेछन् सानेहरू

खै ! अधिकारका लागि कि भोकका लागि,

या त झोलाको बाँडफाँडका लागि ?

वर्षौँदेखि भोकै कराइरहेका छन्

सडक किनारमा रित्तो हात

झोला ठुलेकै भिरे पनि ।