क्रमशः तिखारिएका मेरा सिसाकलम म निखारिउन्जेल फेरि तिखारिनुपर्ने भएछन्
आकाशलाई हेर्दै म यसको उचाइ मापन गर्न सक्छु भन्ने मैले आज आफ्नो उचाई बिर्सिएँ
थाहा छ सारा संसारले एक अलग पहिचानले चिनेको छ मलाई
दिन रात यसरी बदलिदै गएँ कि म हराएँ केवल आफूलाई चिन्ने गरी
त्यो पनि यता कता

एक रात म बिउँझिन्छु अनि सम्झन्छु
ती सबै पात्र मैले रचेका जो आज मेरा रगत भनी चिनिन्छन्
जो विश्वास गर्दछन् म हराएँ
म हतारिन्छु, म फर्किएँ भन्नलाई ती सबै माझ जो मेरै वरिपरि बसेका
गर्दैनन् उति विश्वास अनि चिढिन्छन्, सोच्छन्, म यसै कराएँ

एक सास मैले रोकेको अनि बोकेको त्यो सङ्घर्ष सम्झेछु
पसिना छ निधारमा यो स्पर्श छ भनेसि हो, होशमै छु

पराइ हुनेछु एकछिनमा अनि
ढल्पलाउन म यो कल्पिन्छु
बिछोडको कहालीलाग्दो उत्कर्ष छ
हो, म शोकमै छु

अन्जान शहर, अन्जान महल अनि त्यो भित्रको उजाड नाङ्गोपनमा छु
धैर्यमा म अडिग थिएँ आज त्यसकै बलमा छु म जहाँ छु
यो ब्रह्माण्डमा मुस्कान आफ्नै हात र काँधको अटुट अंकमालमा छु
थाहा छ, म निदाएँ आज स्निग्ध मशान, भोलि उग्रतारा भनी कहलिन्छु

यो देख्नलाई एउटा रोग, परिवारको एउटा शोक र सबैको लागि बोझ भएको छु
सम्झिँदालाई वर्तमानमा म सँगै सँगै डुल्ने अर्को एउटा पात्र जन्मिएको छ
अनमोल म सदा आफू छु
मेरो भोक मेरो कलाले मेटाउने मेरो भोक हराएको छ
अब समाप्तिमा एक पूर्णविरामसँगै भुल्ने अर्को एउटा भोक चाहिएको छ ।