सम्पादक: यम रेग्मी

कालाे नियति

माधव वियोगी

मेराे प्रश्न थियाे उदात्त मनकाे निष्पक्षता खै भन
मीठाे उत्तर नै मिलेन कहिल्यै जन्जाल फुक्ल्याे झन
मैले चिन्तन जाे गरें सफलता पाएर आभा दिन
फाेसा तर्क बुझ्याै कि सत्य जुन थे थाल्याै स्वयम् नाङ्गिन ।
(१)
तिम्राे जागृत चेतमा विषयकाे चासाे नदेखेपछि
त्याे सम्बन्ध छुटाउने मन भयाे आशा हराएपछि
आकांक्षा सितकाे प्रभाव लुटियाे मेराे मनाेभावकाे
श्रध्दाकाे परिवेश नै खतम भाे विश्वासिलाे आँतकाे ।
(२)
तिम्राे झुण्ड समेत आज अकडाे बन्दैछ सिध्दान्तमा
तिम्रा सत्य महासयी जनहरू पुग्छन् छिटै खाेरमा
कालाे बादल सुस्तरी वरिपरी घुम्दैछ लाै हेर ऊ
तिम्राे किस्मतकाे पराजय हुने संकेतकाे सार ऊ ।
(३)
आभाकाे सपना सुनाउने तिमी लाभाहरू छिर्कने
शाेभाकाे परिधानबाट रँगिने सङ्कष्टले जेलिने
आफ्नै कारणले धरासय भयाै आफन्तलाई भुल्याै
फुल्ने फूल भएर चाह हरियाे काँढा बनी हा ! झुल्याै ।
(४)
तिम्राे नैतिक शिष्टता विषमयी आँधी भई उर्लियाे
त्यै उर्लाइ बन्याे दुरासय दिने तत्काल जाे बाैरियाे
बज्दा मादल फन्फनी घुमिफिरी आँखा नदेख्ने तिमी
सत्ताकाे अधुराे धुलाे परिधिमा संसार देख्ने तिमी ।
(५)
आफ्नै देश लुटेर खान सतियाै गर्दा स्वयम् शासन
आँखा नै मधुरा बनाउन गयाै साथी बुझ्याै दुर्जन
ऐले तागतहीन छाै वरिपरी छैनन् कुनै साधन
देख्दैछाै अतिवादकाे झिलिमिली कालाे वृथाकाे धन ।
(६)

सूचनाकाे प्रभाव

सूचना मेराे भएछ तिम्राे चेतना – खुराँक
म खुसी भएँ फूलझैं फक्रें बलाएँ चिराक
देखेर तिम्राे बुध्दिकाे खेल आश्चर्य म भएँ
आफन्त प्याराे सचेत बन्दा अधीक बसाएँ ।
(१)
वासना चल्याे विवेक- शाेभा फक्रेर आडैमा
भावना चम्क्याे सत्यकाे बाटाे खुलेकाे नामैमा
मभित्र एक साैन्दर्य-चेत चम्केकाे देखेर
भएकी थियाै खुसी रे तिमी विगत सम्झेर ।
(२)
आकाङ्क्षा के छ पुर्याई रीत म पूरा गरूँला
संकीर्णताकाे त्यजेर घेराे सपना सजूँला
मभित्र पसी हृदय मेराे नछाम तिमीले
वैलिन्छ मेराे हृदय- फूल ज्ञानकाे कमीले ।
(३)
सभ्यतासित म लुकीछिपी खेलेकाे खेल्यै छु
अन्यायसित तीब्रतासाथ लडेकाे लड्यै छु
संस्कार मेराे विवेकबाट उब्जेकाे धन हाे
तिमीले राम्रै बुझेकी हाैली जीवन घन हाे ।
(४)
धन र घन पृथक छैनन् साैन्दर्य चेतमा
झुल्दैनन् बाली मल नहाली सिर्जना खेतमा
स्वत्वका लागि अादर्शवादी चिन्तन चाहिन्छ
जानेकै छाै नि सभ्यता मीठाे मेलमा पाइन्छ ।
(५)
घाम र पानी,असिना मात्र हाेइन जीवन
जीवनभित्र श्रमकाे मूल्य हुँदैन बिर्सन
आँसुमा पनि माेतीका दाना बग्दछन् ठान्छु म
तिमीलाई हेरी सम्पन्नताकाे चाहना बुन्छु म ।
(६)

प्रगति पथ

देखें मैले प्रगति पथकाे नित्य बिध्वंशलाई
बाङ्गाे,कालाे नियत-रसमा डब्छ जाे आँत पाई
हाेला त्यस्काे विधि नियममा सत्यताकाे निशानी
मैले देख्ने अवसर मिलाेस् दुूधकाे दूध- पानी ।
(१)
ऐलेसम्मन् जति पनि बुझें चेतनाकाे प्रभाले
साँच्चैं फाेसा सब हुनगयाे माथ आफ्नाे झरालें
साथी मेरा निकट नबसे धेर आनन्द मान्छु
एक्लै एक्लै प्रगति पथकाे सार-संसार खिच्छु ।
(२)
सुन्थें पैले प्रगति पथले दुष्ष्ट साम्राज्य मार्छ
भाेका,नाङ्गा अबल सबकाे जिन्दगानी सुधार्छ
देखें मैले प्रगति पथनै अाज हारी रहेकाे
सामन्तीका चरणतलमा लम्पसारै परेकाे ।
(३)
हार्नै नै हाे यदि अब भने हारकै तथ्य खाेलाैं
जित्ने नै हाे यदि प्रगतिकाे वाद बाेकेर बाेलाैं
मात्रै हामी धरमर बनी वादकाे दास बन्दा
हाम्राे भाेली असफल भई अाउँछन् दीर्घ फन्दा ।
(४)
सामन्तीकाे चरणतलमा पर्नुकाे अर्थ स्वार्थ
पैसा पैसा पद,पद भनी उफ्रने मात्र शर्त
यस्ताे चाला भनन कहिलेसम्म चाली रहन्छाै
भाेका,नाङ्गा, दलित जनकाे रक्त खाई रहन्छाै ।
(५)
सारा तिम्रै पछिपछि हुने कार्यकर्ता जुटेर
भाला,खुर्पा,घन र खुकुरी, बन्चराले कुटेर
सीमाभन्दा पनि अझ परै क्राेध चाली लखेट्दा
के हाेला त्याे प्रगति पथकाे भावना प्वाट्ट फुट्दा ।
(६)

भुटानी शरणार्थी (सन्दर्भ हिजोको)

आएकाथे शरण लिन जो मित्र हाम्रा भुटानी
छाडी आफ्नो मुलुक,घर त्यो अन्न वा जन्तु,पानी
भन्थे जस्ले–‘मुलुक गतिलो पार्न सङ्कल्प आयो
बाँच्ने इच्छा सहज गरिँदा राज्यले लात हान्यो’ ।
(१)
हामीले नै मनुज हुनुको अर्थ सापेक्ष जान्यौं
माया गर्ने मनुज सबमा विश्व–आभा बढायौं
हामीलाई जगत जगले दृष्टि नौलो लगायो
नेपाली छन् बहुत गुनिला सत्य सन्देश ल्यायो ।
(२)
पैले आए जति पनि यहाँ कष्टभोगी भुटानी
नेपाली छन् मनुज सबमा भावनाशील ठानी
भोका,नाङ्गा,दमित जन थे सक्कली थे सबै ती
आफ्नो प्यारो मुलुक हितमा लागिएथे सबै ती ।
(३)
‘नेपालीका शरण रहने क्यै भुटानी ततेर्छाैं
हामी आफ्नै यस मुलुकमा ल्याउँछौं ठाउँ दिन्छौं’
आयो यस्तो खबर बलियो अम्रिकाबाट एक
जस्ले ल्यायो शिविरहरुमा शोखको रङ्ग–चेत ।
(४)
त्यस्ता मान्छे खुस हुनगए सक्कलीमा थिए जो
जाने इच्छा अब छ पुगने भावनामा भए जो
केही मान्छे शिविरतिर गै नक्कली बन्न थाले
जो जो बोल्छन् उनकन सिधै लातले हान्न थाले ।
(५)
जो नेताका निकटतम थे थाल्दछन् बन्न भाले
नेतामा नै लविङ तिनले गर्न तत्काल थाले
नेतालाई अवसर मिल्यो टन्न पैसा बटुल्ने
भ्रष्टाचारी नियत,मनसा कार्यमा पोख्त पार्ने ।
(६)
लाखौं पैसा छनन रुपियाँ हातहातै गनेर
नेपालीकै प्रिय तनयको घूस खाए खुलेर
झुट्टा खोस्टो लिखत हुनगो सक्कलीतुल्य लाग्ने
शंका गर्ने जन पनि सिधै हार खाने नबोल्ने ।
(७)
जानैपर्ने पर मुलुकमा बाध्यता सत्य जानी
सक्छन् हाम्रा युवक–युवती पार्न पैसा खरानी
लोभी,पापी,अधम,भँडुवा,चोर,चण्डाल–खानी
नेताबाटै गलत हुनगो मारिइन् देश–रानी ।
(८)
नेताका छन् कमिशन लिने क्यै दलाली गिरोह
मान्छे बेच्ने लुकिछिपि बसी गर्न आरोह–रोह
क्यै ठानेनन् अहह ! तिनले भोलि खुस्कन्छ धोती
खोसिन्छन् यी नगद धन वा स्वर्ण,हीरा र मोती ।
(९)

भुटानी शरणार्थी ( सन्दर्भ आजको)

गल्ती गर्ने मनुजहरुले छुट्करा पाउँदैनन
आर्जेलान् ती नगद,जिनसी भोग्न ती पाउँदैनन्
गल्ती गर्दा नरक जिउँदै पुग्दछन् ती कुबेर
कोर्रा हान्छन् दिनहुँ यमले आँगनीमा उभेर ।
(१०)
जन्ता बेच्ने मुलुक चुसुवा आज रोई रहेछन्
आफै आफै सरर तिनले पोल खोली रहेछन्
नेता,पत्नी, तनय तिनका कर्मचारी र मन्त्री
जन्ता बेच्ने अनि धन लिने देशका लोकतन्त्री ।
(११)
पक्रेका छन् सबल प्रहरी एकताबध्द बन्दै
छोप्छन् आफ्नो मुख,अधर नै तस्करीवाल कन्दै
मन्त्री,पत्नी विरह–रहमा आज पौडी रहेछन्
मान्छे बेच्नै गलत गरियो सोच आई रहेछन् ।
(१२)

ढाका टोपी झलल शिरमा कोट,सुर्वाल,दौरा
ज्यानैमा छन् तर पनि कठै ! माग्न बोक्दा कचौरा
ऐलेको यो स्थिति हुनगयो जेलको बास कष्ट
ठान्छन् पत्नी अबुझ हुनुले हूँ भएको म भ्रष्ट ।
(१३)
केही नेता अघितिर कठै ! तोरिको फूल देख्छन्
केही नेता अपहरण वा भ्रष्टता घोर देख्छन्
देख्छन् आफ्नै सुखसयलता कष्टडीमा घुमेको
देख्छन् आफ्नो गति अगतिमा लोभले जाकिएको ।
(१४)
जस्को चर्चा पर मुलुकमा व्याप्त बन्दो छ आज
नेपालीको शिर शुभ उचा सर्व गिर्दाे छ आज
लाजै मर्दाे समय अहिले देश भोगी रहेछ
ठान्छन् कैयौं जन मुलुकका ‘यो व्यवस्था सडेछ’ ।
(१५)

 

स्रष्टा परिचय

नाम: माधव वियाेगी
नागरिकताकाे नाम: माधवप्रसाद घिमिरे जन्ममिति- २०१८/७
जन्मस्थान: अर्घाैं कालिका (झाँझरमारे, कास्की)
हालः पाेखरा मनपा- २६ , अर्घाैं
माता/पिता- विष्णुमाया/अग्निधर घिमिरे/हालकाे बसाेबास- पाेखरा -१७,छाेरेपाटन ,बेलघारी
शिक्षा:एम्.ए/वि. एल्/वि.एड/

लेखन विधा- कविता ( फुटकर,खण्डकाव्य,महाकाव्य) , कथा,उपन्यास, समालाेचना,गीत,गजल /

पहिलाे रचना:आषाढ ( कविता)

पहिलाे प्रकाशित रचना:”लेखनाथमा श्रध्दान्जली”( कविता)

प्रकाशित कृति
(१) भावनाकाे लडाइँ ( कवितासङ्ग्रह- २०४५)
(२) प्रेम र विधवा ( दलित र ब्राम्हणबीचकाे विवाह सन्दर्भकाे चर्चा भएकाे खण्डकाव्य- २०४५)
(३) लाहुरे ( क्रान्तिचेतयुक्तराष्ट्रवादीलाेककाव्य-२०४८ )
(४) नूतन सङ्कल्प ( समाज सुधारयुक्तकविताहरूकाे सङ्ग्रह-२०५३ )
(५) छन्द बचाऊँ अभियान- २०५३ काे घाेषणापत्र
(६) सजिलाे वर्णमाला (बालपाठ्य सामग्री-२०५६ )
(७) विष्णुमाया ( हिन्दुधर्मका विकृतिकाेचर्चासहित् आमाकाे महिमागानकाे खण्डकाव्य-२०५८ )
(८) गुम्सिएका भावहरू ( प्रेमपरक गजलहरूकाे सङ्ग्रह-२०५८ )
(९) अलिमियाँ ( क्रान्तिचेतका सारथी लाेककवि अलिमियाँकाे जीवनीकाे खण्डकाव्य-२०५९ )
(१०) फराकिलाे आकाशमुनि ( गीतसङ्ग्रह-२०५९ )
(११) छन्दशिराेमणि ( माधव घिमिरेकाे जीवनीकाे महाकाव्य-२०६०)
(१२) महाकाव्यलेखन अभियान- २०६० काे घाेषणापत्र
( १३) अनुभूतिका उच्छलन ( क्रान्तिचेत,समाज सुधार र राष्ट्रवादी निबन्धकाे सङ्ग्रह-२०६१ )
(१४) धर्मराज ( जनकविकेशरी धर्मराज थापाकाे क्रान्तिचेतयुक्त जीवनीकाे महाकाव्य-२०६२)
(१५) जगदम्बा( अन्तर्राष्ट्रियस्तरकी समाजसेवी जगदम्बाकाे जीवनीकाे महाकाव्य-२०६२ )
(१६) छन्दकेशर ( छन्दसूत्रसङ्ग्रह-२०६३ )
(१७) जुरेली ( महान बामपन्थी स्रष्टा गाेकुल जाेशीकाे जीवनीकाे महाका****tव्य-२०६३ )
(१८) पुष्पलता ( विधवाले रातावस्त्र त्याग्न नपर्ने क्रान्तिकारी विचारक पुष्पलता आचार्यकाे जीवनीकाे महाकाव्य-२०६४ ) (१९) नवपल्लव ( कवितात्मक समालाेचनासङ्ग्रह-२०६४)
(२०) यात्रानुभूति,सुझाब र जानकारी( नियात्रात्मक समालाेचना-२०६६ )
(२१)जनकारबाही( बालकथासङ्ग्रह-२०६६ )
(२२)स्रष्टा,स्रृष्टिदृष्टि( कवितात्मकसमालाेचनासङ्ग्रह-२०६७ )
(२३) नाट्यसम्राट ( राणा विराेधी क्रान्तिकारी राणा बालकृष्ण समकाे जीवनीकाे महाकाव्य-२०६७ )
(२४) बहुआयामिक व्यक्तित्व लीलाभक्त ( समाजसेवी लीलाभक्त आचार्यकाे जीवनी)
(२५) याेगमाया (महान क्रान्तिकारी नारी याेगमाया न्याैपानेकाे जीवनीकाे महाकाव्य-२०७४ )
(२६) डायमनश्री (राणा विराेधी राणा एवम् प्रजातान्त्रिक स्रष्टा डायमनसमशेर राणाकाे जीवनीकाे महाकाव्य-२०७४ )
(२७) हरिकाजीकाे चिहान ( जनयुध्दकालीन परिवेशकाे चित्रण -२०७८)
(२८ ) आदर्श गाेकर्ण ( पाैराणिक प्रसङ्गसहित दाजुभाइकाे सम्बन्ध चित्रणकाे खण्डकाव्य-२०७९)
(२९) म (आफ्नै जीवनकाे लेखाजाेखाकाे खण्डकाव्य- २०७९)
(३०) लाेहापुरुष (जनयुध्दमा युवाकाे उत्सर्गकाे खण्डकाव्य )
(३१) उषासन्देश ( देशप्रेमी जाेडीकाे उत्सर्गात्मक खण्डकाव्य)।
(३२) मनकामना (समसामयिक कविता सँगालाे) -२०८०)
(३३) जय छन्द,जय हाेस् (मुक्तकसङ्ग्रह)-२०८०
(३४) मेराेपत्रकारिता र सम्पादकीय-२०८१
(३५) कवि इन्द्रप्रसाद शर्मा वाग्ले(समालाेचना)-२०८१
(३६) फेवामा तैरिएकाे सिन्दुर( कवितात्मक कथासङ्ग्रह)-२०८१
(३७) छिरलिएका दृष्टिकाेणहरू (समालाेचनासङ्ग्रह)-२०८१)
(३८) जीवनी,व्यक्तित्व र कृतित्वमा खगराज.. (समालाेचना)-२०८१
(३९) कर्मयाेगी षडानन्द (महाकाव्य)-२०८१
( ४०) सन्दर्भका अभिव्यक्ति – (समालाेचात्मक लेखसङ्ग्र) -२०८१)
( ४१) जीवनी व्यक्तित्व र कृतित्वमा हिरामणि सुवेदी ( समालाेचना)-२०८१ )
(४२) काव्यतपसी ( महाकाव्य) (एक दर्जनभन्दा बढी पाण्डुलिपि रहेका)

पुरस्कार/सम्मान:
१) कृष्णकुमारी गुरुङ् स्मृति पुरस्कार (२०६०)
(२) लेखनाथ पाैडेल सम्मान ( २०६१)
(३) गेरू अम्बिका काेइराला स्मृति वाणी सम्मान (२०६२)
(४) रत्न श्रेष्ठ पश्चिमान्चल क्षेत्रीय पुरस्कार (२०६३)
(५) जनप्रिय प्रतिभा सम्मान (२०६६)
(६) दुल्लभ लामिछाने स्मृति पुरस्कार (२०६६)
( ७) पल्लव साहित्य सम्मान (२०६६)
(८) रथाराेहणसहित सार्वजनिक अभिनन्दन (२०६७)
( ८) प्रतिभा पुरस्कार (२०६८)
(१०) महाकवि देवकाेटा पुरस्कार (२०७४)
(११) सरस्वती साधना सम्मान-२०७७)
(१२) राधालक्ष्मी साहित्य पुरस्कार(२०७८) (१३) शिवतुलसा छन्दरथी साहित्य पुरस्कार(२०७९)
(१४) गुरुपूर्णिमा विशेष सम्मान-२०७८) (१५) दधिस्मृति साहित्य सम्मान (२०७९) विभिन्न संघसंस्थाबाट “छन्दनायक”काे उपाधि प्राप्त ।
(१६) जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार-२०८०
(१७) अन्तर्राष्ट्रिय नेपाल भारत साहित्य रत्न अवार्ड-२०८०)
(१८) सूर्यबहादुर के. सी साहित्य उन्नयन पुरस्कार-२०८१)
( १९) बालकृष्ण सम नाट्यसिर्जना सम्मान-२०८१)
(२०) त्रिवेणी इन्द्रराज काव्य पुरस्कार-२०८१
( यसबाहेक अन्य २ दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानपत्र, कदरपत्र, अभिनन्दनपत्र आदि प्राप्त ।

सन्चालन:
(१) छन्द बचाऊँ अभियान-२०५३ ।
(२) महाकाव्येखन अभियान- २०६० ।

अन्य विवरण:
(१) २०४१ सालदेखि निरन्तर पत्रकारितामा संलग्न
(२) २०४१ सालदेखि कानूनी परामर्श सेवामा संलग्न
(३) २०४० सालदेखि शिक्षण पेशामा संलग्न (जनप्रिय बहुमुखी क्याम्पसकाे पूर्व प्रमुख/हाल सेवा निवृत्त
(४) ३ दर्जनभन्दा बढी सहित्यिक र सामाजिक संस्थामा संलग्न
(५) २०६७ सालमा रथाराेहण र सार्वजनिक अभिनन्दनसँगै ८०० पृष्ठकाे “छन्दनायक माधव वियाेगी अभिनन्दनग्रन्थ” प्रकाशित ।
(६) छन्द बचाऊँ अभियानका गतिविधि र प्रतिक्रिया नामक ८०० पृष्ठकाे ग्रन्थ प्रकाशित ।
(७) माधव घिमिरे, लेखनाथ पाैडेल र मुकुन्दशरण उपाध्यायलाई छन्दलेखनका आदर्श मानेकाे ।
(८) घरलाई छन्द प्रशिक्षण केन्द्र बनाई घरमै छन्दकविता र महाकाव्यकाे प्रशिक्षण दिइरहेकाे/
(९) २०४१ सालदेखि छन्द प्रशिक्षण दिदै आएकाे
(१०) छन्द बचाऊँ अभियान-२०५३ शुरु भएकाे दिन वैशाख ८ गतेलाई नेपाल सरकार,नेपाल पन्चाङ्ग निर्णायक समितिले छन्ददिवसकाे मान्यता दिएकाे ।
(१) छन्द विश्वविद्यालय स्थापनार्थ सरकारमा प्रस्ताव पेश गरी कसरत गर्दै ।
आदि माधव वियोगीको संक्षिप्त परिचय रहेको छ।

रचनाको लागिः yamregmi1543@gmail.com