सोनापुर अनि जाबेल अलिको लेबर क्याम्प बाहिरको रम्बलमा
अर्कै बेग्लै एउटा अँध्यारो दुबई छ

यहाँ दिउसो, एक अर्कालाई यो देशको र उः देशको भनेर
कर्के आँखा लगाएर तर्केर हिँड्ने
एसिया र अफ्रिका,
लडखडाउँदै,
तर एउटै लयमा हातेमालो गर्दछन्

रम्बल एकैछिनमा बङ्गालको ढाका बन्छ
पाकिस्तान र भारतको कुनै मेला बिर्साउँछ
तर विश्व मानचित्रमा सानो देखिएको नेपाल
यहाँ अजङ्गको गर्जना गर्छ
आमाचकारी गाली गर्छ
पीरको सुस्केरा
सुपरभाइजरको गाली अनि
सरकारको लाचारी
हरेक वेतनमा अन्य भन्दा कम भएर आउने
वेतन हुडलेर
छाद बनाएर निकाल्छ

सोनापुर र बाहिरी दुबईका रम्बल* मा
भोजराज, भाग्य नेउपाने र देउजाका युटुब भाइरलमा
बिग्रेका घरका कथाले
सोधी सिधा पतिव्रता जहानको साँच्चिकैको व्यस्तता पनि
जार बनाएर ठिङ उभ्याउँछ

अलि आँखा बिझाउने, आँखा र मुटु एकैसाथ पिरो भएर पोल्ने
दुबईको रम्बल
खै किन आफूलाई चिन्न अनि आफैँलाई सम्मान दिन नसकेका
साहिँली र माहिलीहरू पनि
केवल शरीर बनेर, जोलिएर
त्यही रम्बलको प्रिय, सबैको साझा
रातो घोडा हातमा बोकेर लडखडाएर
मुटुको खिल बनेर बिझाउँछन्
अलि परको अँध्यारो दुबईका पहेला रम्बल
ती सबै रित्तिएका निख्रिएका मानिसहरुझैँ
कुच्चिएका राता घोडाका क्यानहरू असरल्ल
पसार्छ, पूरै रम्बल रातै बनाएर
रित्तै रित्तै… ।

*मरूभूमि

हाल: दुबई, युएई