ज्ञान र विज्ञानको दीप्त प्रकाशमा पनि
भूगोलको कुन स्थान र समयबिन्दुमा के के हुन्छ
पूर्वसंकेत कमै हुन्छ
एक्कासि कहिले बेजोड कम्पन आउँछ
वारवार तर्साउन पराकम्पन आउँछ
छापमारशैलीमा झैँ
कहिले उज्यालोमा आउँछ, कहिले अँध्यारोमा आउँछ
असरल्ल सतहमा पोखिन्छन्
भूगर्भभित्रका अज्ञात क्रिया प्रतिक्रियाहरू
निमेषभरमै सुन्दर आकृतिहरू विरुप देखिन्छन्
अनिश्चय छ
के कस्तो अवतारमा प्रकट हुन्छ
कहिले सामान्य तरङ्ग लिएर झस्काउन मात्र आउँछ
कहिले ताण्डवरुपी नृत्य देखाउँदै थर्कमान् बनाउँछ
र विध्वंश मच्चाएर जान्छ
आगमनपश्चात् मात्र विनाशलीला देखिन्छ, सुनिन्छ
आउन त अल्पकालको लागि आउँछ
तर दीर्घकालसम्म
अपूरणीय असर छोडेर जान्छ
दर्दनाक पीडा र घाउहरू बल्झाएर जान्छ
अकल्पनीय, कहालीलाग्दा र असाध्यै विद्रुप देखिन्छन्
अदृश्य उन्मादी शक्तिका दृश्यमान परिणामहरू
जमिनमा धाँजा फाट्छ, पहाड पल्टिन्छ, नदी थुनिन्छ
सानो घर होस् वा आलिशान महल
गर्लम्म ढल्छ र क्षणभरमै चिहानघर बन्छ
हैसियत, अवस्था र उमेरको किञ्चित् विभेद गर्दैन
उसले बनाएको चिहानघरमा
जीवनका दु:ख, सुख, पीर र खुशी मात्रै पुरिँदैनन्
रङ्गीन सपना र स्वप्नील खुशीसमेत सँगसँगै सति जान्छन्
सर्वथा निरर्थक हुन्छन् उसको सामुन्ने
मान्छेका सोच, चाहना र योजनाहरू
पीडा, चित्कार या अनुनयविनय
प्रार्थना, पूजा-अर्चना या ईश्वरभक्ति
प्रेम, करुणा र सद्भाव
ऊ साँच्चिकै निर्मम, निरङ्कुश र निश्चिन्त देखिन्छ
स्वघोषित, स्वचालित र स्वनियन्त्रित छन्
प्रकृतिको खेलका नियम र क्रियाकलापहरू

थाहा भएकै कुरा हो
प्राकृतिक विपद् पूर्वसूचना दिएर आउँदैन
यो सदैव विपत्ति र पीडा बोकेर आउँछ
यसका बलशाली क्रियाप्रतिक्रियाहरूलाई
पक्कै पनि सकिन्न रोक्न, छेक्न र थेग्न
तसर्थ, सामना गर्नुको विकल्प देखिन्न
यति हुँदाहुँदै पनि केही त गर्न सकिन्छ
बेलैमा सचेत हुन सकिन्छ
आवश्यक पूर्वतयारी गर्न सकिन्छ
र अनुकूल प्रविधि अवलम्बन गर्न सकिन्छ
स-साना प्रयासबाट पनि जीवन बाँच्न र बचाउन सकिन्छ
थुनिन, च्यापिन र जिउँदै पुरिनबाट जोगिन सकिन्छ
शीघ्रातिशीघ्र जनउद्दार र मल्हमपट्टिमा जुट्न सकिन्छ
के यति गर्न पनि अरुको मुख ताक्न र साइत जुराउनै पर्ने हो र ?
जनजनको सवाल हो यो ।