झुन्ड्याएर पिठिउँमा दुदे शिशु
इस्कोटमा दम सुगर र प्रेसरका चक्की बोकेर
पेशाको पोशाक भिरेर
मलाहको सलह नापिरहेछन् काठमाण्डु
खपेर प्रचण्ड धूप
आन्दोलन प्यारो खुप
भोक, प्यास र निद भुलेर
बोकेर अर्जुनदृष्टि
बनेर एकलव्य
चुमेर माटो
देखाउनलाई बाटो
ओभाउनलाई खाटो
आकाश ओढेर धर्ती ओछ्याएर
व्यवहार शान्त, शालिन र सभ्य
घटवारेको सुनामी छ जो भव्य
सिंहदरबारका स्यालहरूको निद हराम भएको छ
थाल खाउँ कि भात बडो दुविधामा छन् छट्ट्टुहरू
गुरुहरू सडकमा र गोरुहरू सदनमा हुँदा कलमवीरहरूको ताकतलाई
नजरअन्दाज गर्दा लिस्नुलाई उपेक्षा गर्दा
बल्किएको पिलो निचोर्ने तागत जाँच्न
यत्निखेर
ठसठसी कनिरहेछ काठमाण्डु
तानाबाना बुनिरहेछ अलकापुरी
फगत प्रार्थना सुनिरहेछ कान्तिपुरी
दिउँसै तारा नदेख
कालो इतिहास नलेख
इनसाइडर महोदय
हेक्का रहोस्
रहर यो पटक्कै होइन, अन्तर्यले कटक्क खान्छ
कुर्सी तल्लीन होस् अन्यथा देश अधोगति जान्छ।