मनभरि हाँस्छन् सन्तान
फुल्छन् तनभरि
नाकभरि मगमगाउँछन्
सदा टाँसिन्छन् आँखामा
छातीभित्र निरन्तर धडकिइरहन्छन्
कदम-कदममा हामीलाई जिताइन्
खैर, धेरै के लेखूँ आमालाई
जस्ले लेखेकी हुन् स्वयं हामीलाई

सुशील, शान्तको चाहनामा जूनलाई देख्नु
चित्त अझै नबुझे आमालाई हेर्नु
आमाको हृदयमा भेटने छौ ब्रह्माण्ड
तर ब्रह्माण्डमा अर्को आमा भेट्दैनौ
सम्झन त सम्झ भगवानलाई
त्योभन्दा पहिले आमालाई सम्झ
दुःख पनि दिन सक्छन् भगवानले त
त्यो गल्ती आमाले कसरी गर्न सक्छिन् र ?

सन्तानको उज्यालोको गीत गाउने
प्रख्यात गायिका आमा नै हुन्
शिक्षाको पहिलो हरफ मात्र हैनन्
प्रत्येक जिज्ञासाकी उत्तर उनै हुन्
सन्तानलाई आफ्नो जिन्दगी मान्छिन्
धितो बसेर खुसी किनी दिन्छिन्
सक्दिनन् दुःख देख्न सन्तानको
अस्ताउँछ दिउँसै सूर्य मनमा आमाको

पृथ्वी उनै हुन्, प्रकृति उनै हुन्
सदा दिन मात्रै जानेकी छन्
रोएर हँसाउँछिन्, हारेर जिताउँछिन्
आफैँ मरेर बालबच्चा बचाउँछिन्
सन्तानमा आफ्नो सपना फलाउँछिन्
मुटु नै हटाई हामीलाई सजाउँछिन्
परिवारको खुशीको बस्ती बसाउने
एक मात्र मन्जुश्री उनै आमा हुन्
सन्तानको दुःखको डाँडोलाई
चोभार मानेकी हुन्छिन्

मणि नचिन्ने यो समाजमा
सुखको पारिलो घाम ताप्नु पर्ने आमा
दुःखको झरीमा भिज्न पुगेकी छन्
आमाको मुटु अचानो बनाएर
खकुरी चलाउनेहरू
“श्रावण कुमार” पदवीबाट
विभूषित भएका देखिन्छन्
एक मुठी सास लिएर आमा बाँचेकी छन्
हृदय जलाई नक्कली हाँसो हाँसेकी छन्
देश परदेशभरि सन्तान फैलाएकी छन्
निरोगी प्रेमिकालाई भिटामिन पठाउँछन्
दमको दबाईको लामो प्रतीक्षामा अझै आमा छन्
रोगी आमालाई फर्केर नहेर्ने सन्तान
वृध्द भत्ता बुझेकी दिन वृध्दाश्रम धाउँछन्
आमा आज सेपको खेती भएकी छन्
असिनाले चुटेकी बाली बनेकी छन्

आमा अझै छाउपडीमा गुज्रिएकी छन्
भगवान् स्वयं दानव भएको बेला
सति बनी आमा आगोमा होमिइन्
आमाका छियाछिया देखिने खुट्टा
हाम्रै भलाईका संघर्षमा फुटेका हैनन् ?
सन्तान आज मनको क्यालेन्डरमा
भ्यालेन्टाइन् डे सजाउँछन्
चासो खासै लिँदैनन् मातृदिवसमा
चेतना भया सन्तान सबैमा
प्रेमिकाको सल पासो बन्न सक्ला
तर, तर
आमाको पछ्यौरीले त्यो पाप कहिल्यै नगर्ला।

गोरखा बजार
हाल: म्याडिसन, अमेरिका