
त्यो पर चौकमा एउटा आकृति देखेँ
कालो र ठिङ्ग उभिएको
ठ्याक्कै जंगबहादुरको शालिकजस्तै
के हो भनेर नजिक गएँ
शालिकजस्तै देखेँ
अझै नजिक गएर नियालेँ
शालिक जस्तै देखेँ
अनि छेउमै गएर हेरेँ
म त छक्क परेँ
त्यो त मेरो सरकारको पो रहेछ !
मेरो सरकार
शालिकजस्तै निर्जीव रहेछ
आँखा छ, देख्दैन
कान छ, सुन्दैन
मुख छ, बोल्दैन
गिदी छ, सोच्दैन
सबभन्दा अचम्मको कुरो
फोक्सो छ, श्वास नै फेर्दैन
मेरो सरकार
शालिकजस्तै निर्जीव रहेछ
घाम लागेको छ, उसलाई पोल्दैन
पानी परेको छ, उसलाई सर्दी लाग्दैन
हिउँ परेको छ, ऊ चिसिदैन
डढेलो लागेको छ, ऊ वास्ता गर्दैन
आँधी आएको छ, ऊ थाहा पाउँदैन
मेरो सरकार यति अटेरी छ
अटेरी गर्दागर्दै
ऊ आफू निर्जीव भएको थाहा नै पाउँदैन
मेरो सरकार
शालिकजस्तै निर्जीव रहेछ
दुनियाँले थुक्क
साराले गाली गर्छ
सम्पूर्णले धिक्कार्छ
पूरै लोकले सराप गर्छ
तर पनि मेरो सरकार
शालिक जस्तै ठिँग उभिएर बसेको छ
उभिन सक्नुमै यति गर्व गर्छ कि
ऊ उभिन नसक्नेहरूलाई हेरेर अट्टहास गर्छ
मेरो सरकार
शालिकजस्तै निर्जीव रहेछ
आऊ साथी
आज हातेमालो गरौं
यो शालिकजस्तो सरकारलाई साँच्चै शालिक बनाऔं
सिंहदरबारबाट उखालेर टुँडिखेलमा लैजाऔं
अनि नयाँ शालिकको स्थापना गरौं
सबैले एउटा एउटा माला लगाएर
नयाँ शालिकको अनावरण गरौं
तर माला चाहिँ
फूलको थुँगाको हुने कि बाटाको ढुङ्गाको हुने
आफैँ निर्णय गरौँ ।
– चिचिला २, सङ्खुवासभा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

