
बेसारले घाम तापेछ
बेसारको रङ घाममा पोतियो
घाम पहेँलै भयो
घामलाई हेरेर
बाटोलाई हेरेँ
बाटो पहेँलो भयो
आमाले बाँध्ने पटुका हेरेँ
शिरमाथि शिउरिने शिरफूल हेरेँ
बाले नून साट्न ढाकरमा बोकेको सुन्तला सम्झेँ
फुपूहरूले ओड्ने बर्कोहरूलाई सम्झेँ
मधुरो बेसार र माटोको
रङ लागेजस्तै
आगो हेरेँ
इन्द्रेणी हेरेँ
ज्वालामुखी हेरेँ
कुवामा आफ्नो अनुहार हेरेँ
ढुङ्गे ओडारझैँ थेप्चो नाकमुनि
पहेंला चेप्टा चेप्टा दाँतहरू देखेँ
बोटसँग छुटिएर
भुइँमा झरेको पातहरू देखेँ
बेसारे रङहरूमा
फनक्क फर्किएर
सूर्यतिर
ढकमक्क फुलेको
सूर्यमुखी फूल देखेँ
धुजा धुजा च्यातेर
मालामा उनेको
सयपत्री देखेँ
उही बेसारे रङले
पोतिएका रहेछन्
माथि चीनमा
‘ह्वाङ हे/येल्लो रिभर’ नदीलाई हेर्छु
खेतभरि झुलेका धानका बाला हेर्छु
पहेलै बेसारले रङ्ग्याएको देख्छु
घाम कलिलो हुँदा
घाम छिप्ँपिदा
घाम अस्ताउने बेला डाँडामाथि पुग्दा
फरक फरक बेसारे रङमा देख्छु
भोलिको बिहानीसँगै
यी सबै बेसारे रङ्हरू
एउटै रङमा परिणत भए ?
अहिले म यो बेसारलाई
जमिनमुनि टेकेर उभिएको छु
जस्तो कि
एक सैनिक
भयानक विष्फोटक पदार्थ
टेकेर उभिरहेछ ।
(यो कविता याक्थुङ (लिम्बु) भाषामा लेखिएको कविताको नेपाली अनुवाद हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

