ए साथी!
तिमी कुरै नबुझी भन्छौ
सरकार, शिक्षा ऐन ल्याऊ
शिक्षाले देश बनाऊ
शिक्षा राम्रो भए
दुबई मलेसिया को जान्छ?
रेमिट्यान्स कसले पठाउँछ?
पार्टीको झण्डा कसले बोक्छ?
सलाम कसले ठोक्छ?

ए साथी !
तिमी कुरै नबुझी भन्छौ
सरकार, शिक्षा ऐन ल्याऊ
शिक्षामा बजेट बढाऊ
शिक्षामा रकम चढाए
कमिसन कसरी चल्छ?
घरको खुसी कसरी बल्छ?
समृद्धिको फल कसरी फल्छ?
विपक्षीको सत्ता कसरी ढल्छ
तिमी कुरै नबुझी भन्छौ
शिक्षाले मुलुक बनाऊ
सरकार शिक्षा ऐन ल्याऊ
शिक्षाले देश कसरी बन्छ?
देश त
अग्ला अग्ला भवनहरूले बन्छ
गगनचुम्बी टावरहरूले बन्छ
अर्बौँ रकमको लेनदेनले बन्छ
रातारात साटिएका वाचाहरूले बन्छ
तिमी कुरै नबुझी भन्छौ
शिक्षा समान बनाऊ
सरकार, शिक्षा ऐन ल्याऊ

नयाँ सोचले कसरी मुलुक बन्छ?
मुलुक त
वृद्ध शरीरको जोशले बन्छ
मिति सकिएको होशले बन्छ
गफैगफको पहाडले बन्छ
ए साथी!
तिमी कुरै नबुझी बारम्बार भन्छौ
शिक्षा बलियो बनाऊ
सरकार शिक्षा ऐन ल्याऊ ।