मुटुमा तिम्रै अनवरत यादहरूसँग
यो तातो मरुभूमिमा
तिम्रै पर्खाइमा दिनहरू काटिरहेको छु
मनभित्र कोरा सपना राखेर
आउने भाकाहरू आँशूमा
गनेर यो कलिलो जीवनलाई
अर्कैको परिधिमा बेचिरहेको छु
अब त तिमी पनि
कुर्दाकुर्दै थाकिसक्यौ रे!
आफैँमा आत्मविभोर बनेको छु
कति पटक आउने भाखा सारिरहे
कति पटक आफूलाई घटाइरहे
तिम्रो विश्वासमा धोका भए
तिम्रो प्रतीक्षामा बाधा भए
बाल मस्तिष्कमा आघात भए
आज रोदनै रोदनका यादहरूमा तिमीहरू
सँगको बिछोडले टाढा बनाएको छ
प्रिय छोरा!
तोते बोली र यिनै
औलाले डोराउँदै भाऱ्याङ तलमाथि
गरेका दिनहरू मानसपटलमा
ताजै छन्
काँधमा बोकेर हिँडेका क्षणहरूले
अझै नै तिम्रो न्यानो स्पर्श
मेरो काँधमा अल्झिएको महसूस गराउँछ
प्रिय छोरा!
मेरो आश्वासनले तिमीलाई
चित्त दुखाएको होला
मेरो बाध्यताले तिमीलाई
धोकेबाज र जाली देखायो होला
तर,
परिस्थितिको दास बन्नुको
पीडा तिमीले एक दिन अवश्य बुझ्ने छौ
आजकल त तिमी
हजुरबुवासँग मान्दिनौ रे..
ममीसँग बोल्दैनौ रे..
मेरो गल्तीको सजाय
उनीहरूले पाएकोमा लज्जित छु
यसै साल भेट्छु, आउँछु भन्दाभन्दै
समयले नेटो काटी सक्यो
मेरो मुहारमा मलिनता
र दैनिक कार्यमा ह्रास आएको छ
प्रिय छोरा !
माफ गर यस पटक पनि
म आउन सकिनँ !
यहाँ अन्य साथीहरू घर
जाँदा मन कटक्क खान्छ
अनि आफैँलाई धिक्कार्न थाल्छु
धेरै पटक आँखाहरू रसाइरहन्छन्
फेरि छिट्टै तिमीलाई
अँगालोमा बाँधेर धीत मर्ने दिन
कहिले आउला भनेर
पल पल सम्झिरहन्छु
मेरो र तिम्रो जन्मदिन
सँगसँगै मनाउने
र
तिमीलाई सर्प्राइज दिने भनेर
वर्षौंदेखि बनाएको सपना
आज आफ्नै सर्प्राइज भए
यो पटक पनि घर नजाने
निर्णयको बन्दी भएकोमा !
अब त तिमी ठूलो भइसक्यौ
जे हुन्छ राम्रोका लागि हुन्छ भनेर
सम्झ र आफूलाई सम्हाल
समय फेरि आउने छ
मीठा क्षणहरू सँगै बिताऊँ न
भाग्यले कहिलेसम्म रोकथाम गर्ला र
बस छोरा!
यसपालि पनि आउन सकिनँ
माफ गर !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 








