कवि परिचय

आनन्द जोशी

डा. आनन्द जोशी (जन्म ई.सं. १९४८) नेपालभाषा काव्य क्षेत्रमा अलगै विशेषता बोकेका कवि हुन् । नेपालभाषाको आधुनिक कविताको उत्थान र आधुनिक हाइकुको थालनीमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । लामो समयदेखि अटुट रूपमा काव्यकर्ममा लीन उनका कवितातर्फ चार कृति, हाइकुतर्फ पाँच कृति र समालोचनातर्फ चार कृति प्रकाशित भइसकेका छन् । वहाँको विस्थापित जि— “जि” मखु कविता संग्रहलाइ ने. सं. १०९६ मा श्रेष्ठ सिरपाः प्रदान गरिएको थियो ।

व्यावसायिक रूपमा उनी वातावरणीय व्यवस्थापनको विज्ञ हुन् । बेलायतको युनिभर्सिटी अफ वेल्सबाट उनले वातावरणीय व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । अन्तर्राष्ट्रिय संस्था साउथ एसिया इन्भारोन्मेटल कोपरेशन प्रोग्राम (साकेप) र साउथ एसियन रिजनल सी प्रोग्राम (सास) का महानिर्देशक भई श्रीलंकामा काम गरिसकेका उनका हालसम्म वातावरण र जैविक विविधतातर्फ चार पुस्तक प्रकाशित छन् । हाल उनी वातावरण तथा साहित्यसम्बन्धी विभिन्न संघसस्थामा आबद्ध छन् ।

अनुवादकः आर. मानन्धर

जिन्दगी, नयाँ वर्ष – एउटा प्रतिक्रिया

प्रत्येक वर्ष नयाँ वर्ष आउँछ – यो निश्चय हो
यसपालि पनि नयाँ वर्ष आएको छ
आस्थाको चोखो पानी लिएर चेतनाको हातसित
के तिमीले अनुभव गर्यौ – उसको स्पर्श/उसले छम्केको पानी ?

नयाँ वर्षको नाममा वर्षैपिच्छे
आफूलाई पूजा गरेर बाँचिरहेको प्रमाण जोड्दै छौ
(यदि स्वास फेर्नु नै बाँच्नुको परिभाषा हो भने)
आर्थिक बुटले वर्तमानलाई कुल्चिन दिएर
अपाङ्ग भविष्य जन्माउँदै छौ
प्रकाशलाई अन्धकारको मुठ्ठीमा सुम्पेर
बाटोमा अल्मलिँदै छौ

यी सब हुनुको परिणाम एउटा खाडल, जुन जन्म्यो/हुर्क्यो
मानिस/जिन्दगी र नयाँ वर्षबीच
झन् धेरै फराकिलो बन्दै गयो त्यो खाडल
यस पालिको नयाँ वर्षमा

त्यो खाडल झन् विशाल र गहिरो बन्यो
यसपालि तराजू वा ढकले थिच्यो जिन्दगीलाई
महँगीले नयाँ कीर्तिमान राख्यो – आर्थिक इतिहासमा
पखेटामा पटका बाँधेर सेतो परेवा उडाउन खोज्दै छ
विश्व इतिहासमा !

म आजको कवि
प्रत्येक वर्ष पुल बनाउन तत्पर
मान्छे/जिन्दगी र नयाँ वर्षलाई जोड्न
वर्षौं लगाएर बनाएको पुल
यसपालि छोटो भइदियो/भत्किहाल्यो
यो यथार्थ हो बुझ्नेको लागि/मेरो लागि
(अहो ! यो यथार्थको आगोले कस्तो साह्रै पोलेको मलाई
यसपालिको नयाँ वर्षमा !)

स्रोतः इनाप साप्ताहिक, नेसं. १११० (बिसं. २०४६) कछलाथ्व १० (वर्ष ७, अंक ४३) 

मूल नेपालभाषामा