ए हजुर !
कबाड फलाम, छड, पाइप, तार
पुराना भाडा, फिल्टर, कोदालो, हँसिया
बिग्रेका रेडियो, टिभी, कम्प्युटर, प्रिन्टर
बियरका खाली बोत्तल, सिसा, टिनका पाता, ड्रम
पुराना किताब, कापी, कार्डबोर्ड, पत्रिका
आदिआदि विविध प्रयोगविहीन सामग्री सङ्कलन गर्न
बिहानदेखि साँझसम्म घोक्रो फुलाउँदै
थोत्रो साइकलमा बोरा झुन्ड्याएर
मैला झुत्रे लुगा भिरेर
प्लास्टिकका थोत्रा चप्पल पट्काउँदै
शहर बजारका टोलटोल र घरघर चहार्दै हिँड्ने
कर्म गरेर जीवनयापन गरिरहेका मनुवाहरूलाई
ओ ‘कबाडी’ भन्दै हेपेर बोलाउँछन् स्वघोषित सभ्यजनहरू
सम्बोधनको तीखो काँडाले कति चसक्क घोच्दो हो
मन कति खट्टा अमिलो हुँदो हो
जतिसुकै बिझे पनि
मनमा गाँठो पारेर
कर्मयात्रालाई निरन्तरता दिन्छन् तिनीहरू
मागेर खाँदैनन् तिनीहरू
काम गरेर खान केको लाज ?
काम उँचो नीचो भन्दैनन्
मेहनत, इमान र स्वाभिमानमा बाँचेका छन्
कुडाकर्कट र फोहोरबाट मोहोर बनाएका छन्
घरआँगनका प्रयोगविहीन सामग्रीहरू डिपो
र डिपोबाट रिसाइकल कारखानामा पुर्याएका छन्
त्यसै फालिएका मिल्किएका वस्तुहरू
पुनर्प्रयोगमा ल्याउन मदतगार बनेका छन्
दुखजिलो जीवनयापन मात्र गरेका छैनन्
यिनकै कारण
साहुहरूको उद्योग र व्यवसाय पनि चलेको छ
उद्योगका कच्चामाल जुटेका छन्
थुप्रै कामविहीनहरूले रोजीरोटी चलाएका छन्
वास्तवमा यिनीहरूले ठूलो काम गरेका छन्
तर यो समाज ‘कबाडी’ भनेर हेप्छ
मानौं, ती जन मान्छे नभएर कबाड वस्तु नै हुन्
घरआँगन, कोठाचोटा र करेसाबारीमा
यत्रतत्र छरपस्ट परेका
प्रयोगविहीन भएका
सुन्दरताका छेकबार
प्रदूषणका कारक
विसर्जनको टाउको दुखाइ
र व्यवस्थापनको चुनौती बनेका सामाग्रीहरू
संकलन र सदुपयोग गर्ने
वातावरण सफा बनाउन योगदान गर्ने
फोहोबाट मोहोर आर्जन गर्ने यी कर्मवीरहरू
सम्मानित हुन नसके पनि
अपहेलित हुन नपरे हुन्थ्यो
चोर, लुटेरा, ठग र बेइमानहरूबाट
मजाकको पात्र बन्न नपरे हुन्थ्यो
आत्मसम्मान र स्वाभिमानको कदर भए हुन्थ्यो
तर विडम्बना !
कामचोर, ठग र लुटेराहरूको बिगबिगी बढेको समयमा
कर्मशील जनको परिचय खोसिएको छ
र निर्जीव कबाडीको परिचय भिराइएको छ
आशा गरौँ-
कालचक्रको कुनै बिहानी
कामको सम्मान र इमानको परिचय लिएर आउनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










