छ महिनाकी अबोध बालिका ,
जो आफ्नो कपडा र छालाबीच फरक छुट्याउन सक्दिनन्,
दुवैलाई शरीर ढाक्ने चिज ठान्छिन् ,
जसलाई छोप्नु पर्ने र नपर्ने चीजको समेत फरक थाहा छैन,
न छोप्दा खुसी,
न देखाउँदा लाज,
त्यस्ती अबोध बालिकालाई,
गिद्दे नजरले हेर्ने,
ए पुरुष, तिम्रो कस्तो नजर ? कस्तो पुरुषार्थ ?
पन्ध्र महिने अबोध बालिका,
जो बल्लतल्ल निस्केका तल्लापट्टीका दुधे दात देखाउँदै,
तिमीतिरै फर्केर,
करोडौँको हाँसो हाँसिरहेकी हुन्छिन् ,
जसलाई तिमीले,
टपक्क टिपेर काखमा राख्दा,
मायाँ र स्नेहको छाता ओढेको अनुभूति गर्ने,
ती बालिकाको स्पर्शले,
मनमा यौन अनुभूति पलाउने
ए पुरुष, तिम्रो कस्तो मन ? कस्तो पुरुषार्थ ?
छ वर्षकी अबोध बालिका,
जसलाई,
ललाई फकाई गरेर एउटा मिठाई दिंदै,
खेलौना किनिदिने आश्वासन देखाएर,
पर जंगलसम्म लैजाँदा समेत,
रमाई, हात समाई, नाच्दै, उफ्रिदै, नयाँ खेलौनाको सपना बुन्दै,
तिमीसँगै जान्छिन्,
जसलाई मुख थुनेर, तिम्रो यौवनको एक झड्काले,
चिच्याहटको आमा शब्दसमेत निस्किन नपाउँदै
हत्या गरिदिन्छौ,
उसको छटपटाहटमा समेत करुणाले बेचैन नहुने,
ए पुरुष, तिम्रो कस्तो यौवन ? कस्तो पुरुषार्थ ?
सत्र वर्षकी एक किशोरी,
जो साँझ घर फर्किन ढिला भएर,
मनभरी डर लिई जंगलको बाटो हिँड्दै गर्दा,
चौतारी बसिरहेका तिमीलाई भरोसा गरी,
बाटो कटाइदिन अनुरोध गर्छिन्,
उनलाई अघि लगाई पछि हिँड्दै गर्दा,
बाघले शिकार झम्टिएझैँ गरी,
बलात्कार गर्ने
ए पुरुष, तिम्रो कस्तो मन ? कस्तो पुरुषार्थ ?
साठ्ठी वर्षकी एक्ली, रोगी वृद्ध आमा,
ढोका नभएको झुपडीमा,
आफ्नो मृत्यु पर्खेर बसिरहेकी हुन्छिन्,
जसको हात पाखुरासँगै,
शरीरको बलसमेत खिइसकेको छ,
रातको तिम्रो आगमनमा मातृस्नेहले उनलाई पगाल्छ,
र आश्रय दिन्छिन्,
ती ममताले भरिएकी वृद्ध आमालाई समेत,
गिद्धले सिनो लुछेझैँ लुछ्ने,
ए पुरुष, तिम्रो कस्तो दिमाग ? कस्तो पुरुषार्थ ?
यस जगतमा छोरीमान्छेको दर्जा पाएकाहरु,
जसमा भर्खर जन्मेकादेखि, मृत्यु पर्खिरहेकासम्म छन्,
उनीहरुको सग्लो शरीरमा,
केवल एउटा यौनांग मात्र देख्ने,
जिन्दगी जिउन जन्मिएकालाई मृत्युको पोखरीमा डुबाइदिने,
पीडा र चिच्याहटलाई आनन्द मान्ने,
तिमी,
मान्छेको शरीर भएको दानव हौ,
तिमी पुरुष नै हैनौ, तिम्रो पुरुषार्थको त के कुरा !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।