
बत्तीस लक्षणले पूरा भएको
निकै स्वभासिलो वर चाहियो
जीवनभरि माया गर्ने
विश्वासिलो भर चाहियो
कि त कान्छो चाहियो
कि त जेठो चाहियो
उमेर जतिको भए पनि
मात्र राम्रो केटो चाहियो
दरबारजस्तो घरबार छ
कमाउने र पाल्ने जिम्मा मेरो भयो
प्रिय तिमीले गर्नलाई
घरभित्रको काम रह्यो
बच्चा हामीले नै जन्माइदिन्छौँ
तिमीले त केवल,
बोतलको दुध चुसाए हुन्छ
सेकताप गरी, डाइपर फेरि
मस्तसँग सुताए हुन्छ
कुमार चाहिँदैन हजुर
बहादुर भए पनि काम चल्छ
पीर रत्तिभर नमान्नु प्रिय
फल्नाको लोग्ने भनेर नाम चल्छ
घाँस दाउरालाई जंगल जानु पर्दैन
चौबीसै घण्टा इन्डक्सन चुलो बाले हुन्छ
सालासालीलाई हेर्नु पर्दैन प्रिय
मात्र सासूससुरालाई पाले हुन्छ
क्वालिफिकेसनको सीमा छैन
ल्याप्चे ठोक्ने भए हुन्छ
घुम्न हिँड्दा भन्ट्याङ्भुन्टुङ्
काँधमा बोक्ने खोजे हुन्छ
तिमीलाई बाहेक अन्त कतै
छड्के नजर लाउँदिन
कहिलेकाहीँ हो दारुको चुश्की
चौबीसै घण्टा पिउँदिन
शंका केही नमान्नु प्रिय
अभाव केहीको हुन दिन्न
माया नै मायाले डुबाउँछु
अरुका बूढीसँग रुन दिन्न ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

