
केश काटेझैँ
झ्याङ्गिएर उकासिएका रहरका लहरहरू पनि
काट्न मिल्ने भए कति सजिलो हुन्थ्यो
सपना झैँ झर्रझर्र झर्ने,
मुटुका कुनामा थन्किन नपाउँदै ओइलाउने
फूलहरू फुल्दाफुल्दै
सुगन्धले केही दिन्छु भनी आउँछन्
तर सासैभित्र हराउँछन्
जस्तै आँशूले आँखामा टोलाउँछन्
र, एकदिन छपक्क बर्सिन्छन्
नभन्दै, नसोची, नचेताई
थुप्रिंदै जान्छन्
नसोचेका दुःखका थुप्रोहरू
थुप्रै वर्षा भएर झर्छन्
त्यसैमा भिज्छ बालकको सपना
अनि सोध्छन्
लक्ष्य भन्नु के हो?
कसरी भनुँ म?
जब लक्ष्य चुम्न पुग्नुभन्दा
आफैँ मेटिनु सजिलो लाग्छ
र, म बोल्न सक्दिनँ
म सास तान्छु, तर बोल्दिनँ
विष पिएर बाँचेको त्यो मान्छेजस्तै
जो मर्न खोज्दा बाँचेको पीडामा बाँचिरहेछ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
