कपूरको छायाँमुनि
वर्षौंदेखि
सुतिरहेका तर ननिदाएका
सन्तप्त आत्मा हौँ हामी
हामीलाई चिहानबाटै खबर सोध्न आतुरी हुन्छ
भर्खर परलोक भएकाहरूसँग,
के भोग्यौ तिमीहरूले ?
जवाफमा लमतन्न बर्बराउँछ -उच्छ्बास
हाम्रो किपटमा त आजकल
किन हो च्याब्रुङ बज्नै छाड्यो,
मुन्धुम सुनिनै छाड्यो

हिजो हामीले रोपेका रूखहरू
सुनाउँथे पुर्खाहरूका कथाहरू
आज विरहका सुस्केरा छाड्दै
परदेशिएकाहरूको प्रतीक्षामा हुन्छन्
खर्कमा असारे खेत बाझै राखेर
पराया देशको बालुवामा पनि
रोपाइँ गर्दै छौ रे हो लुङ्गा ?

लुङ्गा हो!
कोही त फर्केर आओ
सुङ्नलाई धर्तीको सुगन्ध
यो धर्ती माटोले हैन
तिम्रो पुर्खाको रगत र पसिनाले बनेको हो

सुन्दैछु धेरैले किपट खोसिखान खोजे
कोही त बचाउन आओ न हौ लुङ्गा
हामी मरेकाहरूलाई स्वर्ग जान मन छ
मरेर आफैँ खाल्डो खन्न त सकिन्न नि हैन?
मलामी बन्नलाई पनि कोही त आओ न हौ लुङ्गा

ए, लुङ्गा हो!
कोही त फर्केर आऊ
इतिहासको पानामा गौरवशाली गाथा पढ्न आओ
सेवारो भन्दै आओ
हाम्रो मुन्धुम जिउँदो राख्न
हाम्रो च्याब्रुङ फेरि बजाउन आऊ

लुङ्गा हो!
छोडेर गएकाहरू सबै
यो धर्तिसँग प्रेम नभएका होइनन्
निभेको चुल्हो बाल्न हिँडेका हुन्
तर
जानेहरूप्रति गुनासो पोख्दै यो धर्ति सधैँ रोइरहेको छ
तिम्रा सपनाका पखेटाहरू
यतै तिर उडाऊ न हौ लुङ्गा
किन परदेशका गल्लीमा ढोका ढक्ढकाउन जान्छौ ?
आफ्नै सिकुवाको खाँबो बलियो बनाउन हौ लुङ्गा

हेरुँ यहाँ –
मलामी बन्ने अब को आउँछ ?
जन्ती लैजाने को आउछ ?
हामी त
कपुरको बोटले बजाएको
विरहको धुन मात्र सुनिरहेका छौं ।