पैसा नतिर्ने मेरो एउटा साथी छ
उमेरले मभन्दा अलि माथि छ
गफमा कुरामा असाध्यै जाती छ
तर
पैसा तिर्ने कुरामा चाहिँ अलि विश्वासघाती छ
पैसा नतिर्ने मेरो एउटा साथी छ

दिन सजिलो – लिन असजिलो जस्तो
छाम्दा चाम्रोजस्तो छुँदा गिलो जस्तो
यो पैसा सापटी दिने काम चाहिँ
असजिलो ठाउँमा आउने पिलो जस्तो
पैसा कमाउन कति गाह्रो छ
न दिन छ, न राति छ
पैसा नतिर्ने मेरो एउटा साथी छ

फोन गर्यो – लठ्ठै पार्छ
मान्छे भेट्दा- मख्खै पार्छ
कुरा गर्दा – भोलि नै देलाझैँ गर्छ
लाको कोट -खोली नै देलाझैँ गर्छ
हो जस्तै पार्छ खुबै – देलाझैँ गर्छ
सामा ब्याज दुवै – देलाझैँ गर्छ
गाह्रो पर्यो- लौन, भन्यो
भोलि नै आउनुस् भन्छ, गफ गर्छ
लोकेसन पठाउँछ तर मोबाइल अफ गर्छ
कैले बिरामी छु भन्छ, भान पार्छ
ढाँटेर, दु:ख दिएर – हैरान पार्छ
उस्लाई चढाउन अब मात्रै बाँकी – फूल छ, पाती छ
पैसा नतिर्ने मेरो एउटा साथी छ

गफ लाउँदै कसैलाई भिनाजु बनाउँछ
कसैलाई सालो बनाउँछ
पैसा फिर्ता गर भन्दा अनुहार कालो बनाउँछ
तलब यति छ उति छ भन्दै धाग लगाउँछ
अर्को महिना उसलाई
यो महिना तिम्लाई भनेर भाग लगाउँछ
मान्छे हेर्दा माया लाग्दो छ
जिउडाल हेर्दा खाइलाग्दो छ
रक्सीले नुहाउँछ, दुधले चुठ्छ
चार भाइ जम्मा भाको देख्यो- जुरुक्क उठ्छ
दिन्न कहिलै भन्दैन – दिन्छु भन्छ
तिम्रो गुन बिर्सिन्न -चिन्छु भन्छ
इमान्दार छु – बैमानी गर्दिन भन्छ
तेरो पैसा नतिरी – मर्दिनँ भन्छ
उस्को बहाना नाना भाँती छ
पैसा नतिर्ने मेरो एउटा साथी छ

बेला बेला उस्ले पैसा लिन बोलाइरन्छ
गए पछि केही बोल्दैन- टोलाइरन्छ
होटल जाम भन्छ – के के खान बस्छ
बिल तिर्ने बेला लुसुक्क – ट्वाइलेट पस्छ
अचेल म आफू बायाँ लाग्छु – ऊ दायाँ लाग्छ
ब्यहोर हेर्यो रिस उठ्छ – अनुहार हेर्यो माया लाग्छ
बयान कति गरौँ उस्को- कुरा ताँती छ
पैसा नतिर्ने मेरो एउटा साथी छ

अलि बढी रिस उठेको मेरो घर किन भन्छ
अलि कम रिस उठेको दिन मेरो घडेरी किन भन्छ
कैले पख भैंसी बेच्छु भन्छ
कैले गहना बेच्छु भन्छ
तर केही बेच्दैन खाली इमान बेच्छ
पैसा नभाको त कहाँ हो र पनि भन्छ
कस्सम मैले ढाट्या छैन भन्छ
चेक छ तर साट्या छैन भन्छ
म पैसा लिन जाने भोलि – भोलि पल्टै आउँछ
तर उस्को पैसा तिर्ने भोलि कहिल्यै आउँदैन
विश्वास गर्ने कुरामा अलि घाती छ
पैसा नतिर्ने मेरो एउटा साथी छ ।

लमजुङ
हालः कतार