सधैँसधैँ सबैले दन्त लहर
खोलेर मुस्कुराएको देख्ने
सगरमाथाले आफ्नो मुटुसँग
मितेरी लगाउनभन्दा
पाएन हत्तपत्त हित्तचित्त मिलेको मीत
तर
मैले लगाएँ
आखिर उसको पनि त मुटु जस्तै मुटु रहेछ
मिलनका पलसगैँ हराएको रहेछ
वियोगका पलसगैँ चहर्याएको रहेछ
भरोसामा टुटेको रहेछ
आशामा फुटेको रहेछ
दन्त लहर त उसको स्वाभिमानताको प्रतीक रहेछ
मुस्कान बुझ्नेले सायद मुटु पनि त बुझ्नु पर्छ
किन नलगाउँ मितेरी म सगरमाथासँग
मुटु जल्दा नयन त उसको पनि भिजेकै रहेछ
मितेरीसगैँ साटियौँ सगरमाथा र म
जलेको मुटु नयनबाट बगाउँदै
ऊ पनि त म जस्तै
पटकपटक लछ्प्पै भिजेको रहेछ!!!!
अडिग देखेकै हो आखिर उसलाई सबैले
अटल र अमरको संज्ञा नपाएको पनि हैन
गाएका हुन् गान सबैसबैले
सगमाथा हुनु
सुन्दर हुनु
सहनशील हुनु
सफल हुनु
धीर
टाढाबाट बोल्नेका लागि पर्याय अनेक
कसम
मीत बनेर देखेकै हो मैँले
अटलताभित्रै कम्पन
अमरताभित्रको पतन
उचाइभित्रको निचता
सुन्दरतामै कुरूप
सहनशीलतामै असहनशील
धीरमै अधीर
सृष्टिको परिधीय संवेदनाभन्दा बाहिर
न सगरमाथा न म
न उसको र मेरो कल्पना नै
प्रेमले गुजुल्ट्याएर छोपिएको हो
सृष्टिका स्वाभाविक कमजोरीलाई
र
स्निग्ध प्रेमको कलाले कुँदिएको हो
आखिर सगरमाथा
पग्लिएको हिमपातमा पनि
छोपेकै हो मीतको बुट्टेदार मजेत्रोले छपक्कै
बनाएको हो प्रेमकै मलम पट्टीले
अटल अमर
प्रेम सिञ्चनको मुहान
अस्तित्वको टाकुरो!!!!
प्राध्यापन , त्रिचन्द्र कलेज, नेपाली विभग



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 





