साँझपखको सुनौलो घामले
छाया लम्ब्याउँदै लगेको थियो,
र म उभिएको थिएँ—
एउटा दोबाटोमा,
जहाँ सन्नाटाले पनि आफ्नै स्वर बोकेको थियो

दायाँपट्टि झुल्किँदै थियो
पुराना सम्झनाको धुवाँ—
फाटेका पत्रहरू, अधुरा वाचा
र आँखाबाट बगेर
सम्झनामा जमेको आँशूजस्तो मौनता

बायाँपट्टि सिँचिएको थियो
अपरिचित सम्भावनाको बीउ—
अनाम बाटाहरू, एउटा डरलाग्दो बिम्ब
र कतै भित्रै गडेर बसेको
भविष्यप्रतिको झिनो आशा

दुवै बाटोको आफ्नै आमन्त्रण थियो
दुवैले मलाई चिच्याइरहेका थिए—
“हामीतिर फर्क, हामी नै तेरो यात्रा हौँ!”
तर कुनै बाटोले
ग्यारेन्टी दिएको थिएन—
पुर्याउनेछौँ त्यो ठाउँ भनेर
जहाँ हृदय सधैँ टेक्न चाहन्छ

एकातिर तिमी थियौ—
हिजोको मधुर पीडा बनी
झलझली उभिएकी
फर्केर हेरेको भरमा फेरि मेरै हुन सक्ने

अर्कोतिर म थिएँ—
भोलिको अनिश्चित उज्यालो बोकेर
डगमग पाइला चाल्दै,
अझै पनि आफूलाई चिन्न नपाएको
कुनै कालो छायाजस्तो

तिमीले भनेकी थियौ—
“जुन बाटो रोज्छौ, त्यसैको भाग बनिन्छ।”
तर म त चाहन्थें—
दोबाटोमै बसी
दुवै बाटोका कथा सुनिरहन
सैपाल हिमालको छातीजस्तो चुपचाप
बगिरहेको पानीजस्तो निरन्तर

तर समय, त्यो निर्दयी यात्री
कहिल्यै फर्केर हेर्दैन—
उसलाई न दोबाटो रोक्न सक्छ
न सम्झनाले थाम्न
पवनका सुमधुर संगीतसँग नाँच्दै, गाउँदै
उसलाई त केवल चल्नु छ

अन्ततः मैले एउटा बाटो रोजेँ—
सपना बोक्दै, डर लुकाउँदै
तर फर्कँदा बुझियो—
रोजिएको बाटोको सुगन्धभन्दा
छाडिएको बाटोको पश्चाताप भारी हुँदो रहेछ

अहिले पनि कहिलेकाहीँ
म भित्र कतै दोबाटो सास फेर्छ—
अधूरो निर्णय, अपुरा सपना, रित्तो मनको बट्टा
र आत्मालाई सधैँ दोधार पार्ने
एउटा अमूर्त मोड बनी

अब त लाग्छ—
जीवन स्वयं एउटा दोबाटो हो
जहाँ हरेक मोडमा केही छाडिन्छ
र हरेक यात्रा अधुरो नै हुन्छ—
जबसम्म त्यो “छाडिएको” बाटो
भित्र कतै चिच्याइरहन्छ ।

बाजुरा, डोगढी