नव प्रभातले ल्यायो सन्देश नयाँ
उज्यालो झल्कियो, हरायो पुरानो छाँया
नयाँ आशा, नयाँ सपना बोकेर
आयो जीवनमा एक नवीन माया ।

गएको वर्षको सम्झना मिठास बनोस्
गल्ती र पीडा अब पाठ बनोस्
जुन बाटो हिँड्यौं, तिनलाई हेरी
आज फेरि संकल्प नव जीवन जोडी ।

नयाँ वर्षमा होस् आत्मबल गहिरो
नडराऊँ कठिनाइ, गरौं सबै थलो उज्यालो
सपना न हो सधैं टाढा रहने
कदम चालौं, नढलौं, नअडिने ।

शब्द होइन, कर्म बनोस् हाम्रो चिनारी
हृदयमा होस् प्रेम, मनमा उज्याली
शुद्ध मनले गढौं नयाँ युगको गाथा
जहाँ न्याय, शान्ति र समता हो साथमा ।

नयाँ वर्ष होस् केवल पात्रोको पन्ना होइन
होस आत्मा शुद्ध बनाउने पावन अभियान
मिठा मुस्कान, साँचो भावनाको संगालो
नयाँ वर्ष बनोस् सुन्दर भविष्यको उज्यालो ।
इन्स्ब्रुक, अष्ट्रिया

कविताः नयाँ वर्षको प्रभात

 

नयाँ वर्षको सूर्य उदाउँदा
पुराना दिनहरू ओझेल पर्छन्
काँडाहरूको बाटो हिँडेर
हामी मुस्कुराउने फूलझैं फक्रन्छौं
नयाँ वर्ष केवल पात्रोको पाना होइन
यो त आत्माभित्रको उज्यालो हो
नयाँ यात्रा आरम्भ गर्ने साहस हो

कति सपना अधुरा छन्
कति वाचा पूरा हुन बाँकी छ
तर आज, यो क्षण, नयाँ वर्षको सुरुवातसँगै
ढलेका विश्वासहरू उठाएर
हामी फेरि उठ्न सक्छौं

समयले सधैं घडी हेर्दैन
तर हामीले हरेक सेकेन्डलाई
अर्थ दिन सक्छौं
नयाँ वर्षमा हामी
पुराना पीडाहरू बिसाउनेछौं
र आशाका नयाँ गीतहरू गाउनेछौं

हाम्रो हरेक पाइलामा
प्रतिबिम्ब हुनेछ दृढ निश्चय
र हरेक सासमा गुञ्जिनेछ
स्वतन्त्रताको स्वर
नयाँ वर्षले हामीलाई सम्झाउँछ
हामी समयका यात्रु मात्र होइनौं
हामी त समयका सिर्जनाकार हौं
जब हाम्रो मुटु नयाँ चाहनाले धड्किन्छ
त्यो क्षणमा नै एउटा नयाँ युगको आरम्भ हुन्छ ।

इन्स्ब्रुक, अष्ट्रिया