प्राकृतवादको नमूना थियो
पारिस्थितिक प्रणाली र जैविक विविधता
वैदिक कालमा
अयोध्याको बागबगैँचामा
पौराणिक कालमा
सीताले रोपेको मनमोहक वटवृक्ष
आज शक्ति उन्मादमा
रावणहरू लौहवृक्ष रोपिरहेछन्
आणविक हतियारका
जसले फलाइरहेछन्
अक्सिजन होइन
विषाक्त धुवाँ!

किष्किन्धाको डाँडामा
आगो बालेर प्रेमको
सुग्रीवसँगै वानरसेनाहरु
हाम्रै प्रकृतिका साथीहरू
रमाइरहेथे प्रकृतिको अनुपम स्वर्गमा
तर त्यही आगोले तराईको जंगल
नडढोस् चैत वैशाखमासमा

कुरुक्षेत्रको माटोबाट आइरहेको तातो हावा
बारुदको गन्ध
पुर्ख्यौली रगतको होली
प्रतीत हुन्छ मानसपटलमा
अहिलेको इजरायल-प्यालेस्टाइन युद्ध
चिहानघारी भएको छ
पिशाच आत्माहरूले तर्साउने
रोपौँ वटवृक्ष
शान्ति मिल्छ भट्किएका हाम्रै पुर्खाका आत्माहरूलाई

हिमाली काखमा स्वच्छ हावाको कावा खाँदै
ऋग्वेदको निर्वाण ऋचा सुक्ति
‘अग्ने पृथिव्या अधि’
यज्ञको आहुति र चरु
पुनरावृत्ति हो पानी चक्रको
वर्षा ऋतुको स्वागत हो हाम्रै पृथ्वीघरमा
अनि बढ्ने त हो प्राणवायु अक्सिजन
समीधा हुनुपर्छ हाम्रै प्रायश्चित्तको
अनि बग्नेछिन् हाम्रै वागमती र विष्णुमती
कंचन भएर
फिर्ता हुनेछ गंगाको पवित्रता
आँखा खुल्नेछ बुद्धको
निर्वाण प्राप्ति हुनेछ
बोधिवृक्षमा लुम्बिनीको!
बोधिवृक्षमा खोजौँ
बुद्धलाई हामी
लुम्बिनीको फूलबारीलाई
कंक्रीट जंगलमा मायादेवीको मन्दिर बनाएर होइन।

आदीम युगका
सूर्यरथका सातघोडा
थिए प्राकृतिक र सामर्थ्य
पृथ्वीमा प्रलय ल्याउन
हाम्रा आजका घोडाहरू
पेट्रोल खान्छन् अनि मोबिल डकार्छन्

सूर्यपुत्र कर्णको दिव्यकवच हो, ओजोन तह
हामी सबैका लागि
हावामा विष घोलिएको
यो जैविक विषाक्त युद्धमा
मानव सभ्यताको धर्मयुद्धमा

मानव सभ्यताको भविष्य
अन्धकार नबनोस्
धृतराष्ट्रजस्तै हाम्रो पर्याअन्धताले

हाम्रो वैदिक सभ्यता, पशुपतिनाथ र वागमती
हे प्रभु जोगाउन सकौँ प्लास्टिक सभ्यताबाट
गीतावाणी हुँ म
रोपेर वटबृक्ष ज्ञानको, जगाउँ हरियाली फेरि वृन्दावनको, शिवको मृगस्थली, श्लेषमान्तक वन,
जहाँ थिएन पर्यावरणीय चिन्ता
रामको वनबास, अयोध्याको सरयू नदी
रामले खाएको शबरीको बयर
वाल्मीकिको खरले छाएको आश्रम
हरियो पर्यागाउँको नमूना
सुन्दर पर्याचेतनाका दृष्टान्तहरू

यदुवंशीहरूको प्रायश्चित्त
लाक्षागृहको आगो
रामको मृगमरिचिकापछिको कुदाइ
लंकादहनको आगो
नयाँ नक्शा बन्छ कार्बन फुटप्रिन्टको

अथर्ववेदको सुक्ति
‘माता भूमि: पुत्रो अहं पृथिव्या:’
कंक्रीट सभ्यताको बुलडोजर विकासमा
नमारौँ हाम्रा हरिया सपनाहरू
अनि भविष्यका कलिला आशाका मुनाहरू

कामधेनु र कल्पवृक्ष बनून्
हाम्रा पर्याचेतनाका ऋचाहरू
हरियो संकल्पको सट्टामा
नबनोस् परमाणु विकास
बिग्रेर पारिस्थितिक पद्धति
नबनोस् मानव सभ्यताको गति
अश्वत्थामा हतोहत

बलि दिउँ हाम्रै अज्ञानताको रावणलाई
नगरौं मानव सभ्यताको लंकादहनका नयाँ श्रृङ्खलाहरू
बन्द गरौँ आणविक भट्टीका प्रयोगशालाहरू
रामसेतु जस्तै गरौँ अर्ग्यानिक विकास निर्माणहरू
दानवीर कर्णको जस्तो गरौँ स्वार्थको दान!

नकल्पिनु सदावहार फूल फुल्ने स्वर्गको सोपान
विभिन्न ऋतुमा फरकफरक फूल फुल्ने
पतझड उजाड शिशिरमा
जरा गाडेर फेरि पलाउने साहसको
जीवन दर्शनको सुन्दर पाठशाला हो पृथ्वी

आँखा पोल्ने काठमाडौंको पीरो धुवाँ धुलो
बग्दै आएको हिमालको पानी
किन बग्न सक्तैन वागमतीमा!
‘अहं योनिरप्स्वन्त: समुद्रे’
देव्यथर्वशिर्षका पर्याचेतनाका सुक्तिहरू
ऋग्वेदको पर्याचतना
मर्करी खाइरहेका छन् आज जलचरले
बिग्रिएको छ पूरै जलचक्र
अनि हुन्छ अम्लवर्षा!
‘अग्ने नय सुपथा राये’
ईशावास्योपनिषद् सुक्ति
अग्निसँग कामना मानवकल्याणको
अग्निदेवको समनमा
आहुति हरियो वटवृक्षको थियो त्यो
ऋग्वेदको यज्ञमा!

डरलाग्छ आज
अर्जुनको दिव्यास्त्र भन्दा कडा
क्षेप्यास्त्र र परमाणु बम छन् यहाँ
सन्नाटा छाएको छ
तेस्रो विश्वयुद्धको पूर्वसन्ध्याको
त्राहीमाम छ विश्व!
भीष्म प्रतीज्ञा गरौँ आज यो माटोको
नासो हो यो हरितगृह हाम्रो
अनि आधुनिक एकलव्य बनेर
चढाउँ गुरुदक्षिणा
औंला काटेर होइन
त्यागेर कार्बन फाइबर टेक्नोलोजी
कार्बन उत्सर्जन हटाउने प्रतीज्ञा गरेर
पर्याचेतनाको ज्ञान छरेर

‘मा हिंस्यात् सर्वा भूतानि’
ऋचा सुक्ति सुन्दैछु म
वेदवाणी ऋग्वेदबाट!

हिमालका कालापत्थरहरुको टाउकाबाट
समुद्रको पीँध पुरिँदै गर्दा
मान्छेहरूको अहंकारको ग्लोबल वार्मिङ्
सम्झिन्छु त्यही अग्निहोत्रमा
भविष्यको चरु समिधा
हवन गर्दैछौं हामी
विश्वयुद्धको सहनाइ बजाएर

वाल्मीकि आश्रमबाट म रामायण होइन
लेख्दैछु महाकाव्य पर्याचेतनाको
जलवायु परिवर्तनको
जसका सुक्तिहरू कोरिएका छन्
हाम्रै सन्ततिको भविष्यको
डि. एन. ए. को हेलिक्समा!
वाणशय्यामा भीष्म बोल्छन्,
प्राणरक्षा पृथ्वीको तिम्रो राजधर्म,
अनि वायु शुद्धता नदी अधिकार तिम्रो राजनीति!
सावित्री सत्यवानको जंगलसँगको नाता
सावित्रीको यमराजसँगको प्रार्थना
हे मनुष्य मनन गर तिम्रो भविष्य!
पृथ्वी सुक्ति, अथर्ववेदबाट
सम्झिन्छु आजको तातो पृथ्वी
अनि ताता मान्छेहरू

पृथ्वीमाता उपचाररत छिन सघनकक्षमा
ग्रहशान्ति गर्दैछन् सन्तानहरू
यज्ञवेदीमा प्लास्टिक हवन गरेर
हरियो पृथ्वी अभियानमा
नवीकरणीय ऊर्जाको प्रयोगशालामा
सिकाउँ सौर्य ऊर्जाका सोलार प्यानलहरू

गीताको निष्काम कर्म
म निर्देशित छु
‘तत् त्वम् असी’ को सुक्तिबाट
किनकि सुरुवात तिमीबाटै गर
यो अभियान शुरु गरौँ आफैंबाट
म नै माटो हुँ
जन्मेँ यही माटोमा, बिलाउनु छ यही माटोमा
वेदान्तको ब्रम्हाण्डीय चेतना
पर्यावरणीय न्याय अनि मेरो संकल्पको आहुति
मेरो जैविक प्रार्थना!
वैदिक वाल्मीकि आश्रम
नयाँ संस्करणमा देखिन्छ
नासाको भूउपग्रहको चित्रमा!
अर्जुनको गाण्डिव, विष्णुको सुदर्शन चक्रमा
खोजौँ त्यस्तो जादुयी पारसमणि
जसले हरियो बनाओस्
यो विषाक्त र प्रदूषित पृथ्वीलाई
‘अहं ब्रम्हास्सि’ उपनिषद् सुक्ति
तर अब बेला भएको छ ‘म नै पृथ्वी हुँ’ भन्नुपर्ने
मानवजातिको मोक्ष प्राप्ति
कार्बन शून्य उत्सर्जन,
किन धुमिल्याउँदैछौ मान्छे
वरपीपल र तुलसीलाई
देउता पुज्छौँ हामीले
किन बनायौँ सिमेन्टको देवता?
कृष्णको नयाँ कर्मयोगी गीतामा
बनाउँ कार्बन न्युट्रल समाजलाई साधना
अनि प्लास्टिकमुक्त निष्काम कर्म
मनन गरेर अथर्ववेद सुक्ति
‘माता भूमि: पुत्रोsहं पृथिव्या:’
नबिर्सौँ हामी हौँ भूमिपुत्र
हनुमानले बोकेको ‘द्रोणागिरी’ पर्वत छन्
अझै संजिवनी बुटीले भरिपूर्ण
तर विडम्बना हनुमानको ठाउँमा
जहाज र जेटहरूले उचालेका छन्
पहाड तर कार्बन उत्सर्जन ड्रोन बनेर
‘ऋतं च सत्यं च’ उवाच
बनाऊँ हाम्रा सत्य वचन नियम र कर्म
पर्यावरणमैत्री
जारी गरौँ वातावरणीय श्वेतपत्र
पग्लिँएर नाङ्गिदा हिमालको श्वेतवस्त्र
नाङ्गो हुन्छ मानव सभ्यताको भविष्य
अस्तुॐ!

 

केही संस्कृतका पदावलीको नेपाली अर्थ र स्रोत तल उल्लेख गरिएको छः

ऋतं च सत्यं च
ऐश्वर्य र सत्य तपबाट नै उत्पन्न भए । (ऋग्वेद)

तत् त्वम् असि
त्यो तत्त्व तिमी नै हौ । (सामवेद)

अहं ब्रह्मास्मि
म ब्रह्म नै हुँ । (बृहदारण्यकोपनिषद्, यजुर्वेद)

अग्ने नय सुपथा राये
हे अग्नि ! हामीलाई सन्मार्गबाट आनन्दतिर लैजाऊ । (ईशावास्योपनिषद्)

योनिरप्स्वन्तः समुद्रे
समुद्रको अभ्यन्तरमा मेरो उत्पत्तिबीज छ । (देव्यथर्वशीर्ष)

मा हिंस्यात् सर्वा भूतानि
सबै प्राणीलाई हिंसा गर्नु हुँदैन । (ऋग्वेद)

माता भूमिः पुत्रोऽहं पृथिव्याः ।
पृथिवी माता हुन्, अनि म धर्तीपुत्र हुँ । (अथर्ववेद)