
टन्टलापुर घाममा पसिना पुछ्दै हिँडिरहेका
अनगिन्ती बटुवाहरूलाई
गन्तव्यसम्म डोहोर्याएका गोरेटाहरू
सहर्ष स्वीकार्न अझै तम्तयार छन्
लस्करै लस्कर बटुवाका पाइलाका बोझहरू
गाइरहेका छन् उराठलाग्दा विरहका गीत
वटुवा विश्राम स्थलको रुपमा हैकम जमाएका
वर र पीपलका चौताराहरू
छोपिसके पनि सुकेका वर र पीपलका पातहरूले
पर्खिरहेका छन् बटुवाहरूको प्यास मेटाउन
शदियौँ पहिले खनिएका कुवाहरू
हिजो भविष्यको खोज र निर्माण गर्न
छातिमा कुल्चदै तिनै गोरेटोहरूको
धाएथे अनगिन्ती मानिसहरू
ती गोरेटोबाट उदगम बिन्दु फिर्ती हुनुको साटो
भौँतारिइरहेका छन् अझै आशाका चाङहरू बोकी
रातका सपनीहरूमा पनि देख्न छाडेका छन्
आफू जन्मेका थातथलोहरू
पैदलयात्राको अठोट लिई
बरू सात समुद्र पारिका मानिसहरू
झुल्किदा ती गोरेटाहरूमा
हर्षित हुन खोज्छन् वृद्ध, महिला र बालकहरूलाई
आश्रय दिइरहेका बस्तीहरू
कुल पूजामा थातथलो पाइला टेक्नेहरूको स्पर्शले
उर्लदो हो आशाको ज्वारभाटा
केही क्षणको लागी भए पनि चाडबाडमा आउनेहरूको लर्कोले
अवसर मिल्दो हो सेवाको
जीर्ण ढुङ्गे बिसौनाहरूलाई पनि
दिँदा हुन् आशीष देउरालीहरूले
चढाउँदा पत्थर र पातीहरू
खुशीले गद् गद् हुँदा हुन् मिलनमा कति
गाउँमै बसी प्रकृतिसँग भलाकुसारी गर्दै
खेल्दै र झेल्दै गरेका साथीहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

