विषादि मिसिएको हावाले निशासिएको छ मेरो देश
आशाका फूलहरू ओइलाएका छन्
राजनीतिक ज्वरोले पोलेको छ देश र जनताको छाती
र अस्तव्यस्त निर्णयले गलाउँदै छ सबैको हड्डी

मेरो देश बिरामी छ
नदीहरू धमलिएका छन्
हावामा धुवाँ मिसिएको छ
कानूनलाई पैसा र शक्तिले चलाएको छ
सत्य र निर्दोषको घाँटी थिचिएको छ
शिक्षा र स्वास्थ व्यापार बनेको छ
देश भाँडाकुटी झैँ खेलौना भएको छ
हिजोको गौरव धमिलिएको छ
इतिहासका सुनौला अक्षरहरू मेटिँदै छन्
देशको शिर यतिबेला झुक्न बाध्य भएको छ
हामी र हाम्रो देशको इमान शून्य बराबर भएको छ

आम सर्वसाधारणको पेट्मा भोकले आगो बलेको छ
उता सिंहदरबार र सत्तापक्ष भोजमा रमाएको छ
खेतका गराहरू उराठलाग्दो र चिरा परेको छ
उता विद्यालयका भवनलाई धमिराले खाएको छ
यता भाषण गर्न मञ्च रङ्गिएका छन्
नागरिकलाई बेच्ने सत्तामा पसेका छन्
यता सत्य बोल्ने कारागारमा कोचिएका छन्
कानून, पैसा र शक्तिको दास बनेको छ
न्यायालयलाई मूल्य टाँसिएको छ

अब देश न नेताले बचाउने छन्
न राजाले बचाउन सक्ने छन्
अब देशमा न गणतन्त्र चाहिएको छ
न त राजतन्त्र नै
अब त चाहिएको छ मात्र राष्ट्रभाव
देशप्रेमी चाहिएको छ
कोही न कोही त जन्मिनै पर्छ
जो सत्ता पार्टी हैन, देशलाई प्रेम गर्न सकोस्
राष्ट्रलाई प्रेम गर्न सक्नु पर्छ
तर उमहुम सम्भव छ जस्तो लाग्दैन
न त यी कोही भ्रष्ट नेताले देशलाई प्रेम गर्छन्
न त यी आफ्नो सन्तानलाई देश चलाउन दिने राजाले नै

मेरो देश बिरामी छ
अब यसलाई हामी ठीक पार्नै पर्छ
यो असाध्य रोग पनि त हैन
देशको उपचार सम्भव छ
सत्य बोल्न सक्ने ओठहरूमा
इमान राख्ने हातहरूमा
र न्याय खोज्ने आँखाहरूमा
सूर्यको किरण आउने नै छ
उज्यालोको आशा बाँकी नै छन्
एकदिन यो देश सञ्चो हुने छ
र फेरि उठ्ने छ
आफ्नो रोग निको पार्ने छ
र मेरो देश निरोगी बन्ने छ ।