थाहा छ
प्रेम एकतर्फी हुँदैन

त्यो पनि थाहा छ
दोहोरो हुँदा
प्रेमको ठाउँ
स्वार्थले लिइसकेको हुन्छ

सम्बन्धमा
स्वार्थ र प्रेम
दूधमा पानीजस्तै हो
राजहाँसले छुट्ट्याउँछ भन्छन्
तर यता कुनै हाँस भएको थाहा छैन

गणितका सूत्रहरू
असफल छन्
रति, मासा र मात्रा छुट्ट्याउन
प्रेमस्वार्थ
अथवा स्वार्थप्रेमको

प्रेमले तोरी फुल्छ
मौरीले चुमेको देख्छ
जो पनि ठान्छ
प्रेम गरेको
स्वार्थ देख्दैन
सतहमा आफूले जस्तै

अथवा
प्रेम स्वीकार गर्ने फूलको
प्रजननको स्वार्थ
यथार्थमा
देख्दैन त्यो कोही

किनकि
नाङ्गो आङमा खोल भिरेर
प्रेमको स्वाङ पार्ने
अजीव जीव
प्रकृतिमा त्यो बाहेक
अरु को छ र ?

अर्घाखाची