ए साथी ! थाहा छ ?
मलाई मेरो देश छोड्न रहर लागेको हो र ?
खाडी जान मन थियो र ?
आफ्नो जन्मभूमि छोडेर, युरोप र अमेरिका जान मन थियो र ?
जानी नजानी विदेशी भाषा सिक्न मन थियो र ?
विदेशी धर्म संस्कृतिमा रमाउन मन थियो र ?
कसैको दास बनेर काम गर्न मन थियो र ?
निर्दोष सन्तानलाई छोडेर विदेश पलायन हुन मन थियो र ?
प्यारीको साथ छोड्न मन थियो र ?
आमाको काख छोड्न मन थियो र ?
बाले दुःखसुख गरेर जोडेको सम्पत्ति त्याग्न मन थियो र ?
प्यारा र आफन्तहरूको मायाबाट टाढा हुन मन थियो र ?
ए साथी, तिमीले किन बुझेनौ ?
म के गरूँ ?

थाहा छ साथी ?
मेरो देशको सरकारले अरू देशसँग
श्रम सम्झौता गर्न हतार गर्छौ
सबै युवा विदेश पठाउन लालायित हुन्छ
एयरपोर्टमा युवाको लावा लस्कर हेर्न चाहन्छ
अचम्म लाग्छ साथी
कस्तो विश्वविद्यालय निर्माण गर्यौ मेरो सरकारले
जहाँ, परीक्षा दिएको कापी नै गायब हुन्छ
परीक्षा दिन गयो परीक्षा नै रद्द हुन्छ
प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिर बन्छ
त्रुटि नै त्रुटि भएको प्रश्नपत्र निर्माण हुन्छ
महिनौंसम्म विश्वविद्यालयमा ताला लाग्छ
भविष्य निर्माण गर्न तल्लिन भएको पात्र
नतिजा कहिले आउँछ भनेर पात्रो मात्र हेरी बस्छ

थाहा छ साथी ! तिमीलाई ?
विश्वविद्यालय सबै खाली भइसके
देशका शिक्षालयलाई मात्र कोटा प्रणाली
विदेशीले विश्वविद्यालयहरूले यहाँ जति थुपारे पनि हुनी
विश्वस्तरीय गुणस्तरीय शिक्षा दिन्छु भन्छ सरकार
तर आज १२ कक्षा पास गरेका सबै
विदेशी विश्वविद्यालय पढ्न लालायित छन्
के हाम्रो विश्वविद्यालयले
गुणस्तरीय शिक्षा दिन सक्दैन ?
अझ सरकार घमण्ड गर्छ
हामीले अद्भुत नै गरेका छौं

ए साथी! थाहा छ ?
यहाँ नियुक्ति डिग्रीले हैन, विद्यावारिधिले हैन
नेताको गुलामीले पाइन्छ
पैसाले पाइन्छ
आफ्नो र आफन्त भए पाइन्छ
गुणगान गाउने भक्त भए पाइन्छ
तर अफसोच
न म गुलामी गर्छु
न मसँग पैसा नै छ
न म नेताको आफन्त नै हुँ
न म पार्टीको कार्यकर्ता नै हुँ
थाहा छ साथी ?
मसँग डिग्री छ र पो धोका पाएँ !

ए साथी, थाहा छ ?
मेरो सरकारले कृषिमा क्रान्ति गर्छु भनेर भाषण गर्छ
देखेको छौ कृषिमा क्रान्ति ?
एउटा किसान दुई किलो मल किन्न दुई दिन धाउँछ
खेती गर्छ, दुःख र परिश्रम गर्छ
तर विडम्बना, बिचौलियाले लुट्छ
अनि बजार मूल्य नपाएर
दुःख र परिश्रमले उब्जाएका सबैथोक
सडकमा फाल्न विवस हुन्छ

ए साथी, थाहा छ तिमीलाई ?
सबै खेतीबारी बाँझो भइसके
गाउँ बस्ती खाली भइसके
युवाको जोश जाँगर हराइसके
सबै विदेश पलायन भइसके
देशलाई बेथितिको राज्य बनाए
केवल टुलुटुलु हेरेर बस्छ मेरो सरकार
उर्वर भूमि साहुलाई सुम्पिएर
खाडी किन गएको होला ?

साथी, थाहा छ तिमीलाई ?
मालपोतमा हामी कति दुःख पाउँछौँ ?
यातायातमा हामी कति दुःख पाउँछौँ ?
महिनौं दिनसम्म पनि नमिलेको फाइल
पैसा पाएपछि फुत्त मिल्छ
उसलाई भनसुन गरेपछि मिल्छ
केही छिन अगाडि मात्र नमिलेको सबै थोक
उसले फोन गर्दिएपछि मिल्छ

साथी, सुन त !
नियम कानून त ठूलाबडालाई कही लाग्दैन
लाग्ने त हामी सोझा जनतालाई मात्र हो
बेसहारालाई हो
असहायलाई हो
झुपडीमा बस्नेलाई हो
कहाँ देश बर्बाद बनाउनेलाई हो र ?

थाहा छ साथी ?
जङ्गलका बँदेल र मृग त तस्करले
ठूलाबडाको घरको भान्सामा पुर्‍याउँछन् रे !
अवैध धन्दाबाट कमाएको धनको थुप्रो पनि
त्यतातिर नै हुन्छ रे !
शासकहरूसँग सुनै सुन छ रे !
तस्कर भनेर भरियालाई फसाउँछन् रे !
कस्तो अचम्म लाग्छ साथी !
महिनामा लाख कमाउनेलाई यहाँ
कोठाभाडा तिर्न धौधौ छ
छोराछोरी पढाउन धौधौ छ
उपचार गर्न धौधौ छ
तर यहाँ, अकुत सम्पत्ति कसरी आयो ?

थाहा छ, साथी !
नारा र भाषण त यहाँ खुब चर्का चर्का लगाउँछन्
आदर्शका गफ खुब चुट्छन्
यहाँ ठेक्कापट्टा पार्ने पनि नेताकाले मात्र हो
टेन्डर पनि कसरी हो उनीहरूकालाई मात्र पर्छ
राजनीति पनि उनीहरूकाले मात्र जानेका छन्
राजदूत हुन उनीहरूका मात्र सक्षम छन्
विश्वविद्यालयमा नियुक्ति खान पनि उनीहरूकाले मात्र हो
लाग्छ, उनीहरूकाले त चमत्कार नै गर्छन्

ए साथी, थाहा छ ?
हामीले कहाँ सुख पाएका छौँ ?
न अस्पताल, न विद्यालय
न व्यापार, न व्यवसाय
सरकार भएको आभास कहीँ कतै गर्न पाएको छैन
हाम्रो बारेमा कसैले कहिले सोचेनन् !

त्यसैले साथी
म निराश छु, निःशब्द छु
अनि भन्न मन लाग्छ, धिक्कार मेरो देशको लाजनीति!

********************